AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरले तोकेका पार्किङस्थललाई थप व्यवस्थित र सुरक्षित बनाउने निर्णय

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७९, बिहीबार १८:३८
1.33k
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने भएको छ ।

महानगरपालिकाले आज सरोकारवालासहितको उपस्थितिमा भएको बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो । महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । यसअघि कार्यान्वयनमा ल्याएका पार्किङस्थलमा भौतिक संरचना थप गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बैठकले निर्णय गरेको छ । त्यस्तै जलजला चोकदेखि डिएसपी अफिससम्म भने पार्किङस्थल निश्चित भएपछि नो पार्किङको निर्णयलाई कार्यान्वयनमा ल्याइने भएको छ ।

बैठकले यसअघि तोकिएका पार्किङस्थलहरु थप व्यवस्थित गर्दै भौतिक पूर्वाधारहरु थप गरी सीसी क्यामेरा र बत्ती जडान गरी सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको बैठकले पार्किङस्थललाई जतिसक्दो छिटो व्यवस्थित गरी नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ । साथै बैंक तथा वित्तीय संस्था, अस्पताल, होटेल, सरोकारवाला संस्थाहरुलले आफ्नो पार्किङको आफैं व्यवस्थापन गर्नका लागि पत्राचार गर्ने निर्णय भएको महानगरका प्रवक्ता सन्तोष न्यौपानेले जानकारी दिए ।

तोकिएका स्थानको पार्किङलाई व्यवस्थित बनाउन भोलिदेखि नै लाग्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । बैठकमा मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा महानगर लागिपरेकाले सहयोग गर्न आग्रह गरे । बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष दीपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, उपाध्यक्ष प्रमोद अग्रवाल, खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल, उपाध्यक्ष अञ्जय मिश्रलगायतले महानगरको अभियानमा आफूहरुले साथ दिने प्रतिबद्धता जनाए ।

उनीहरुले पार्किङलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा खुद्रा व्यापार संघले पार्किङलाई व्यवस्थित बनाउनुपर्ने, स्वदेशी बजारको प्रवद्र्धनमा लाग्नुपर्ने, जोगबनी नाकामा कडाइ गर्नुपर्नेलगायतका माग राखेर महानगरका मेयर कोइरालालाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर