खबर पूर्वाञ्चल

यस वर्षको तिहारलाई राजनीतिकर्मीहरूले अर्थात प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका उम्मेदवारहरूले नागरिकसंग नजिक हुने अवसरका रुपमा उपयोग गरिरहेका छन् । विगतका वर्षमा सिमित कार्यक्रम गरेर शुभकामना गर्दै आएका राजनीतिकहरूले यस पटक गाउँ गाउँमा शुभकामना आदन प्रदान कार्यक्रम राखेका छन् ।
उम्मेद्वारहरूलाई टोल टोलमा हुने शुभकामना कार्यक्रममा भ्याइ नभ्याई छ । विराटनगर महानगरभित्रका वडाहरु पनि प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र समेटिएका छन् । क्षेत्र नं ४ र क्षेत्र नं ६ भित्रपर्ने वडाहरुमा शनिबार दिनभर जसो टोलटोलमा शुभकामना कार्यक्रम भए । त्यसमा विशेष गरी नेकपा एमालेका वार्ड कमिटिले आयोजना गरेका कार्यक्रममा पुगेर उम्मेद्वारले आफ्नो पार्टीले गरेका काम बारे बताएको मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधि सभाका उम्मेदवार विनोद ढकालले बताए । उनीसगैं क्षेत्र नं ४ (२)का उम्मेद्वार जीवन घिमिरे पनि शुभकामना सगैं मतदाताको घरदैलोमा सहभागी भए । वडा नं १, ३, र ८ मा वार्ड कमिटि र वार्ड नं २ मा युवा संघले आयोजनाका गरेका शुभकामना कार्यक्रममा दीपावलीको शुभकाना दिदै आफ्ना चुनावी एजेण्डा मतदाताको पु¥याएको क्षेत्र नं ४ (२) का उम्मेदवार जीवन घिमिरेको भनाइ छ ।
यस्तै विराटनगरमा पर्ने अर्को क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार लालबाबु पण्डित पनि विराटनगर वडा नंं. ५ का विभिन्न टोलमा भएका तीनवटा शुभकामना कार्यक्रमममा सहभागी भए । त्यसपछि सुन्दर हरैचा नगरापालिका ४ र ६ का विभिन्न टोलमा कार्यक्रममा सहभागी भएर आफुले विगतमा गरेका कार्यहरु सम्झाउँदै नागरिकलाई शुभकामना दिएको बताए । क्षेत्र नं ६ (२)का उम्मेदवार पर्शुराम बस्नेत पनि पण्डितसगैं कार्यक्रममा सहभागी भए । उनले आफनो क्षेत्रका मतदातासंग पुग्न र उनीहरुका समस्या बुझ्ना शुभकामना कार्यक्रमले सजिलो बताएको बताए । चुनावको समयमा आएको दीपावली आफुजस्ता उम्मेदवारका लागि अवसर भएको उनको भनाइ छ ।
त्यसो त एमाले बाहेक गठबन्धनका दलहरु पनि तिहारलाई चुनाव प्रचार प्रसारको रुपमा प्रयोग गरिरहेका छन् । मोरङ क्षेत्र नं ४ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी र क्षेत्र नं. ६ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काग्रेसका शेखर कोइराला चुनावी अभियानमा होमिएका छन् । शनिबार गठबन्धनका शीर्ष नेताहरुको कार्यक्रम विराटनगरमा राखिएकाले सबै त्यसैमा केन्दीत हुँदा अन्य गतिविधि खासै भएनन् ।
त्यस कार्यक्रमलाई काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।