पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थालेपछि मोरङ ट्राफिकले गाउँ–गाउँमा पनि सचेतना अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालय विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूलाई ट्राफिक सचेतना मूलक जानकारी गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की, प्रहरी सहायक निरीक्षक दयाराम गौतमहरूलाई ट्राफिक सचेतनाको बारेमा जानकारी गराए । ‘सडक सुशासन र सवारी दुर्घटना न्यूनीकरणको लागि गाउँ–गाउँमा ट्राफिक प्रहरी अभियानको थालनी भएको छ,’ ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने, ‘यो अभियान गाउँ केन्द्रित हुनेछ । यसको थालनी कानेपोखरीको गाउँदेखि सुरु भएको छ ।’
अभियानमा हप्तामा एक दिन मोरङका १७ वटा स्थानियतह रहेको गाउँहरूमा पुगेर स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रहरीसमेतको सहकार्यमा सवारी चालक तथा सडक प्रयोगकर्ताहरूलाई प्रशिक्षण दिई सडक अनुशासनको पालना गराउने उनले बताए ।
‘सडक प्रयोगकर्ताहरूलाई अनुशासित तवरले सवारी साधन चलाउन लगाएर सम्भवयताको सँगसँगै सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई कम गराउने यो अभियानको एउटा उद्देश्य पनि हो,’ उनले भने, ‘अभियानको क्रममा सडक प्रयोगकर्ताहरूलाई सवारी तथा यातायात व्यवस्था ऐनमा भएका नियम र ऐनको जानकारी गराएर सजक गराइन्छ ।’
अभियानमा गाउँका प्रत्येक विद्यालयहरूमा ट्राफिक प्रहरी उपस्थित भएर एक विद्यालय एक कार्यक्रम अनुरूप सचेतना मूलक कक्षाहरू पनि सञ्चालन गरिने भएको छ । ‘विद्यालय जाने बालबालिकाहरू कम उमरेका भएका कारण सवारी दुर्घटनामा पर्ने उच्च जोखिम वर्गमा पर्दछन्,’ उनले भने, ‘ दुर्घटनाहीनबाट जोगाउन तथा सडक सुशासन पालना गराउन र असल जिम्मेवार नागरिकको रुपमा बिकास गर्नको लागि योजना बद्ध रुपमा बालवालिका सुरक्षाका विविध विषयहरुमा प्रशिक्षण प्रदान गरिनेछ । सडक सुशासनतथा दुर्घटना रहित समाजको निमार्णको लागि सुरक्षा, सजकता र जिम्मेवार समेटेर अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गरिनेछ ।’
तपाईको प्रतिक्रिया