खबर पूर्वाञ्चल
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् । निषेधाज्ञा आज राति १२ बजे जारी रहने छ ।
धरानमा आज हिन्दु अभियान्ताले गोरु काटेको र मन्दीर अगाडि चर्च बनाएको विरोधमा प्रदर्शन गर्ने तयारी गरेको छ । आफ्नो संस्कृति मनाउन पाउनुपर्ने भन्दै अर्काे समूहले पनि भोलीका लागि नै प्रदर्शनको घोषणा गरेको छ ।
पक्ष विपक्षले एकै पटक आन्दोलन घोषणा गरेपछि स्थीति नियन्त्रणमा लिन प्रशासनले आजबाट लागु हुनेगरी धरानमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेशको नाकामा पनि कडाई गरिएको छ । कडाई गरिएका क्षेत्रमा पनि निषेधाज्ञा जारी भएको छ ।
धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ न। बाट बराहक्षेत्र नपा वडा न। ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा न. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा न. ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
पछिल्लो समय धरान प्रवेशको नाकामा कडाई गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार धरानको प्रवेश नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता अपनाइएको हो । ती स्थानमा प्रदर्शनका लागि आउने व्यक्तीलाई धरान प्रवेश गर्न दिएको छैन ।
‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने,‘ उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
भारतबाट समेत ‘गहुँत छर्कने कार्यक्रम’का लागि मानिस आउन थालेको सूचना पाएपछि प्रशासनले झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरी स्रोतले बताएको छ ।