खबर पूर्वाञ्चल
राटनगरस्थित सहिद रंगशालामा मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा भएको २ दिने प्रतियोगितामा ३१ स्वर्ण, १५ रजत र २ कांस्य पदकसहित सुन्दरहरैँचा प्रथम भएको छ ।
त्यस्तै, २४ स्वर्ण, १८ रजत र ६ कांस्य पदकका साथ विराटनगर महानगरपालिका द्वितीय र ३ स्वर्ण, ८ रजत र ८ कांस्य पदकका साथ रतुवामाई नगरपालिका तृतीय भयो ।
प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, तेक्वान्दो, उसु र कराँतेका खेलका इभेन्टमा ७ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । ६ वटा खेलबाट ८८ जना छात्र र छात्रा खेलाडी प्रदेश स्तरीय खेलका लागि छनोट भएका छन् ।
यहाँबाट छनोट भएका खेलाडीले जेठ २४ गतेदेखि विराटनगरमा हुने प्रदेश स्तरीय खेलमा खेल्ने छन् । प्रदेश स्तरीय खेलबाट छनोट भएका खेलाडीहरूले काठमाडौंमा हुने राष्ट्रिय खेलमा खेल्न पाउने छन् ।
१५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मोरङका १७ पालिकामध्ये ८ वटाले मात्रै सहभागिता जनाए । गत वर्षको विजेता मिक्लाजुङसहित ९ पालिकाले भाग लिएनन् । विराटनगर, धनपालथान, रंगेली, रतुवामाई, उर्लाबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा र बुढीगंगाले भाग लिएका छन् भने अन्य पालिकाले भाग नलिएको खेलकुद कार्यालयले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरजबहादुर श्रेष्ठ, मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोखरेल, पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्व कार्यालय प्रमुख लवभक्त श्रेष्ठ, कोशी प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालीदास भट्टराई, मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य विनोद डाँगी, अजित सिंहलगायतले पुरस्कार प्रदान गरे ।