AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट गोल्डकप चैत २६ गतेदेखि शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७७, बिहीबार १८:२९
1.34k
Shares
विराटनगर/ छैठौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत अन्तिम साताबाट हुने भएको छ ।

विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरि चैत २६ देखि वैशाख ४ गतेसम्म विराटनगरको सहिद रंगशालामा रात्रीकालिन गोल्डकप हुने जानकारी गराएको हो ।
गोल्डकप सफलता पूर्वक सम्पन्न गराउन ट्रष्टका सदस्य मनोजविक्रम शाहको संयोजकत्वमा मूल आयोजक समिति बनेको छ ।

प्रतियोगितामा बिदेशी टिम भारत र क्यामरूनसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने संयोजक शाहले जानकारी दिए । गोल्डकपमा भारत पंजाव पुलिस, झारखण्डका टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन टिम प्रथम पटक सहभागि हुदैछ । नेपालका मनाङ मस्र्यादी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, संकटा क्लब, राष्ट्रिय लिग विजेता टिम मच्छिन्द्र क्बल, गोर्खा व्याएज, रुपन्देही–११ र आयोजक विराटनगर ११ सहभागि हुनेछ । ‘गोल्डकपमा आयोजकको टिप पनि सहभागि हुनेछ । जसमा आयोजक विराटनगर ११ टिममा राष्ट्रिय र अन्तर्राष्टिय खेलाडीहरूले भरिपूर्ण हुनेछ,’ ंसंयोजक शाहले भने, ‘टिम व्यवस्थापनको सम्पूर्ण खर्च विराटनगर महानगरपालिकाले लिनेछ । जुन टिम सशक्त हुनेछ ।’

गोल्डकप ट्रष्टले बिगतको वर्षहरूमा भन्दा यस वर्षको गोल्कड विजेताले पाउने राशी पनि बढाएको छ । गोल्डकप विजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद र आकर्षक शिल्ड रहेको छ । यसअघि पाँचौ संस्करण विजेताले १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले ७ लाख । पाँचौ संस्करण थ्रीस्टार क्लबले जित्दा आर्मी उपविजेतामा भएको थियो ।

प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई १५ हजार नगद रहेको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

रातीको ७ बजेदेखि सुरू हुने गोल्डकपको २, ३ र ४ सय रूपैयाँ टिकट रहेको आयोजकले जनाएको छ । सिजनल टिकट २ हजार रुपैयाँ रहेको छ । ‘सिजनल टिकट खरिद गर्ने दर्शकको लागि छुट्टै प्याराफिटको व्यवस्था गरिएको छ,’ उनले भने, फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन गोल्डकप हुने भएकोले खेल रोमाञ्चित बन्नेछ ।’ प्रदेश सरकारले जडान गरिदिएको फ्लडलाइटको उद्घाटन र सफल परीक्षण पनि यसअघि भइसकेको छ ।

विराटनगरको इज्जत र प्रतिष्ठासँग जोडिएको यति ठूलो प्रतियोगिता आयोजना गर्न सधैं निजी क्षेत्रको आश गर्नुपर्ने अवस्था छ । बारम्बार निजी क्षेत्रकै पहल र सक्रियतामा प्रतियोगिता हुँदै आए पनि त्यसले निरन्तरता भने पाउन सकिरहेको छैन ।

विराटनगरका उद्योगी एवं व्यवसायी राजेन्द्र राउतले पहिलो पटक निजी क्षेत्रबाट गोल्डकप आयोजनाको जिम्मा लिएर सफल बनाएका थिए । त्यसपछि उद्योगी नवीन रिजालको सक्रियतामा त्यसलाई परिस्कृत गरेर डे–नाइट खेल सञ्चालन गरियो । तर रिजालले पनि दोस्रो पटकबाट त्यसलाई निरन्तरता दिन सकेनन् । ट्रष्टको केही दिन अगाडीको बैठकले गोल्डकप आयोजना गर्ने जिम्मा फेरि निजी क्षेत्रलाई दिएको हो ।

केही समयदेखि निजी क्षेत्रको नेतृत्वमा हुँदै आएको प्रतियोगिता विवादरहित ढंगबाट भव्य रुपले सफल पनि हुँदै आइरहेको छ । लामो समयदेखि ठप्प रहेको गोल्डकप २०६८ सालमा सञ्चालन गर्ने जिम्मा भीम कुँवरले पाएका थिए । गोल्डकपको हिसाबकिताब पारदर्शी नभएको आरोप लागेका कारण त्यसपछि प्रतियोगिताले कुँवरको नेतृत्व पाउन सकेन । अनियमितताको आरोपसँगै कुँवर नेतृत्वमा रहेका पदाधिकारीले राजीनामा दिए ।

त्यसपछि प्रतियोगिता सञ्चालन गर्ने जिम्मा प्रतिष्ठित उद्योगी राउतको काँधमा आएको हो । उनले प्रतियोगितालाई भव्य रुपमा सफल बनाए । त्यसपछि उद्योगी रिजालले रात्रिकालिन प्रतियोगिता गराए । त्यसपछि निरन्तरता हुन सकेन । रिजालपछि ट्रष्टले युवा उद्यमी शाहलाई विश्वास गरेर यस वर्ष प्रतियोगिता आयोजक समितिको नेतृत्व प्रदान गरेको हो ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्डकपको रुपमा यसको सुरुवात भएको इतिहास छ । ३९ वर्षसम्म नियमित रुपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने निक्कै लामो समय बन्द भयो । ११ वर्षसम्म गोल्डकप हुनै सकेन । त्यसपछि नाम परिवर्तन गर्दै महेन्द्रबाट विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । २०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर