पूर्वाञ्चल खबर
बुधबार राति सम्पन्न खेलमा जहदाले विराटनगरको हाटखोला भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । निकै रोमाञ्चक रहेको खेलमा दुवै टोलीबाट अन्तर्राष्ट्रिय खेलसमेत खेलेर अनुभव बटुलेका राष्ट्रिय खेलाडीदेखि ‘ए’ डिभिजन क्लबबाट खेलेर नाम चर्चामा राखेका खेलाडीहरु रहेका थिए ।
नेपाली टोलीका पूर्व कप्तान सागर थापा नेतृत्वमा रहेको हाटखोलाले मध्यान्तरअघि २ गोलले अगाडि रहे पनि मध्यान्तरपछि जहदाले आफ्नो खेलको लय फर्काउँदै २ गोल फर्काउन सफल भयो । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो ।
टाइब्रेकरमा जहदाका लागि डेनिम राई, विमल गुरुङ, मित्रबहादुर बस्नेत, सुवास सब्बा र संजीव बुढाथोकीले गोल गरेका थिए । हाटखोलका लागि नरेश श्रेष्ठ, विक्रम श्रेष्ठ र राजकुमार घिसिङले गोल गरे भने विष्णु सुनारको प्रहारलाई गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
खेलको २० औं मिनेटमा हाटखोलाका विक्रम श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३५ औं मिनेटमा हाटखोलाकै राजकुमार घिसिङले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । मध्यान्तरअघिसम्म २ गोललेपछि परेको जहदाले ४५ औं मिनेटमा सुवास सब्बाले गोल गर्दै गोल संख्या कम गराए । ६७ औं मिनेटमा डेनिम राईले पेनाल्टीमार्फत गोल गर्दै गोल संख्या बराबरी पारे । हाटखोलका गोलरक्षकले जहदाका सुवास सुब्बालाई डिबक्सभित्र तानेर लडाएपछि रेफ्री बिक्की कार्कीले पेनाल्टी दिएका थिए ।
खेलको म्यान अफ द म्याच जहदाका डेनिम राईलाई मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले पुरस्कार दिए ।
विराट मेघा स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज रातिको पहिलो सेमिफाइनल खेल मोरङको सिद्राहा भेट्रान क्लब र आयोजकबीच हुनेछ ।