खबर पूर्वाञ्चल
कोशीले धार परिवर्तन गर्दा उदयपुर, सप्तरी र सुनसरीका ५ वटा पालिका जोखिममा परेका छन् । कोशी ब्यारेजबाट करिब १५ किलोमिटर उत्तरबाट आज बिहान ४ बजे तटबन्ध भत्काएर पानी बस्ती तर्फ पसेको हो ।
कोशीमा पानीको सतह नघटे बेलकाको वडा–८ डुम्रीबोटस्थित कोशीको बाँध भत्किने डर छ । यसैले पनि मंगलबार नै स्थानीयले अन्नपात सुरक्षित ठाउँमा सारेका थिए । लगत्तै नेपाल प्रहरीले कटानक्षेत्र नजिक टेन्ट लगाएर निगरानी थालेको थियो । प्रहरी रातभर टेन्टमै थियो ।
विस २०४५ साल वा त्यसभन्दा अघि सप्तकोसी नदी उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोट हुँदा भागलपुतर्फ बग्ने गरेको थियो । त्यसबेला अहिले कोशी फुटेकै ठाउँबाट नदी बग्ने गरेको थियो । पछि कोशी नदी पूर्वतर्फ धकेलिएका कारण पश्चिमी क्षेत्रमा बालुवा गिटी थुप्रिएर केही अग्लो डिल बनेको थियो ।
तर, गएरातिदेखि भने नदीको एउटा भंगालो पसेर पुरानै धारतर्फ बग्न थालेको छ । कोशी नदी पश्चिमतर्फको डिल कटान गर्दै गाउँ पस्दै गएपछि बेलका नगरपालिकाका पाँचवटा वडाहरू जलमग्न भएका छन् ।
डुम्रिबोट पश्चिमबाट कोशीको भंगालो गाउँतर्फ पसेपछि २५ हजार घरधुरी डुबानको उच्च जोखिममा परेका छन् । बेलका–८ को सिसौली, वडा–९ को धौरी, वडा–३ को भोटेपुल, दुर्गा मन्दिर, एबिसी टप्पु, जगना, गुणीटोल र वडा–२ को लालभित्ती, बानडाँडा, चन्द्रपुर र वडा–१ को पुरन्दह, करैया, बेलहा डुबानमा पर्ने जोखिम बढेको छ ।
बाढीमा फसेकाहरूलाई स्थानीय सरकारले रब्बरको बोट र गाडीबाट सुरक्षित स्थानतर्फ सारिरहेको छ । कोशी फुटेपछि बेलकाका स्थानीयले घर छाड्न थालेका छन् ।
बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ मा पर्ने श्रीलंका टापु अहिले चारैतिरबाट पानीले घेरिएको छ । अहिले टापुका २५ सय मानिस थुनिएका छन् । सो क्षेत्रमा बाढीमा फसेकाहरूलाई उद्दारका लागि पहल थालिएको छ।
कोशी नदीमा पानीको बहाव उच्च भएपनि कोशी ब्यारेजको सुरक्षार्थ खटिएको भारतीय प्रतिनिधि मण्डलले सबै ढोका नखोल्दा सुनसरीको कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ ।
भारतले कोशी ब्यारेजका ढोका नखोल्दा बाढीले कटान गर्न थालेको छ । सुनसरी र उदयपुरको सिमानामा रहेको सप्तकोसी नदीले चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ कटान सुरु गरेको हो ।
कोशी ब्यारेजका ढोका नखोलेकाले डुम्रिबोटेबाट नदीमा आएको बाढी श्रीलंका टापुतर्फ प्रवेश गरेको स्थानीय बताउँछन् ।
यसैबीच कटान गरिएको क्षेत्रमा प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीसहितले निरीक्षण गरेका छन् । मन्त्री कार्कीसहितको टोलीले कटान गरिएको स्थान, प्रभावितलाई उद्धार गर्ने तयारी लगायतको विषयमा निरीक्षण तथा अनुगमन गरिएको प्रजिअ इन्द्रदेव यादवले बताए ।