खबर पूर्वाञ्चल
आज एक जना राज्य मन्त्री र तीन मन्त्रीले सपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरूलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराए।
नेपाली काङ्ग्रेसबाट खोटाङका भूपेन्द्र राईको नेतृत्व चार जना सरकारमा सहभागी भएका छन् । राई भौतिक पूर्वाधार मन्त्री बन्दा, सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका हुन्।
भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त भएका छन् । आन्तरिक विवादका कारण काँग्रेसले मन्त्री छान्न नसक्दा कोशी प्रदेशमा लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
नेपाली काँग्रेसको कोटामा रहेको स्वास्थ्य मन्त्रालयमा भने अझै मन्त्री नियुक्त हुन सकेको छैन । नेपाली काँग्रेस भित्र कुरा नमिल्दा यो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारीमा राखिएको छ। सरकारमा सहभागी हुँदा कांग्रेसले पार्टीभित्रको प्रतिपक्ष डाक्टर शेखर कोइराला समूहलाई बाहिर राखेको छ । यद्यपि, एउटा मन्त्रालय भने कोइराला समूहलाई भाग छुट्याएर राखिएको छ ।
९ वटा मन्त्रालय रहेको कोशीमा कांग्रेस एमालेबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक मन्त्रालय आधा–आधा बाँड्ने सहमति भएको थियो । पूर्वसहमति अनुसार कांग्रेसले ४ मन्त्री र २ राज्य मन्त्रीको नाम पठाउन सकेन ।