भारतको जोगवनीबाट नेपालतिर ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा अवैध तोरी सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका १ बुधनगरबाट बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल बिओपी जहदा भुटाका सशस्त्र प्रहरी निरीक्षक जङ्गबहादुर सिंह नेतृत्वको टोलीले पाँच हजार आठ सय किलोग्राम तोरी बरामद गरेको छ । प्रदेश १–०४–००१ त १२७४ नम्बरको ट्याक्टरमा लोड गरिएको तोरी भारतदेखि तस्करी गरि नेपाल ल्याउने क्रममा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।
उक्त तस्करीको तोरी लोड गरिएको ट्याक्टर भारतबाट नेपालतिर प्रवेश गरेपछि नियन्त्रणमा लिइएको उनले बताए । सशस्त्रले ट्याक्टर नियन्त्रणमा लिनसाथ चालक फरार बनेको एसपी लामिछानेले बताए । उनका अनुसार तोरी दुई लाख ५० हजार मूल्य बराबरको छ ।
भारतबाट भन्सार छली गरेर ल्याउँदै तेल उद्योगहरुलाई तोरी बेच्ने गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टरसहित तोरी आवश्यक कारबाहीका लागि शुक्रबार साँझ विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी एसपी लामिछानेले दिए ।
बरामद गरेको तोरी विनोद ठाकुरको रहेको बुझिएको छ ।
चोरी–तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा सक्रियता बढाइएको एसपी लामिछानेले बताए । सीमा सुरक्षा र अवैध आयात तथा निर्यात नियन्त्रणमा कुनै पनि सम्झौता नहुने उनले बताए ।
तपाईको प्रतिक्रिया