animated ellipse animated ellipse

मोरङका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ बैशाख २०७९, बिहीबार १८:०२
342
Shares
विराटनगर/ मोरङका सबै स्थानीय तहमा आज मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर सञ्चालनमा ल्याईएको हो ।

मोरङमा विराटनगर महानगरपालिकासहित १७ वटा पालिकाहरु छन् । विराटनगर महानगरपालिकाभित्र निर्वाचनसँग सम्बन्धित सबै कामहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेशन कश्यप अधिकारीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अरु निर्वाचन अधिकृतको कार्यालयसँग पनि समन्वय हुने छ । अन्य १६ वटा निर्वाचन अधिकृतको कार्यालय भने सम्बन्धित स्थानीय तहमै रहने छन् ।

मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरीले गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक पर्ने भवन, सिसी क्यामेरा जडान, सवारीसाधन, फर्निचर, सञ्चारलगायतका सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइसकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अप्रेटर गरेर एक–एक जना कर्मचारी नियुक्त गरिने छ । त्यस्तै सवारी चालक र अङ्ग रक्षक एक–एक तथा कार्यालय सहयोगी दुई जना हुने छन् । निर्वाचन अधिकृतको कार्यालयमा पनि सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अप्रेटर, सवारी चालक र अङ्ग रक्षक गरेर एक–एक तथा कार्यालय सहयोगी दुई जना नियुक्त गरिने छ ।

निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी नियुक्त गर्दा स्थानीय तहमा कार्यरतलाई प्राथमिकता दिइने प्रजिअ दाहालले बताए । मोरङसहित प्रदेश १ का १४ वटै जिल्लाका पालिकाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजै स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए । प्रदेश १ मा एक सय ३७ वटा स्थानीय तह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर