पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका–७ स्थित ६ कठ्ठा क्षेत्रमा बन्ने नयाँ प्रशासकीय भवनको आज शिलन्यास गरिएको हो । महानगरपालिका प्रमुख भीम पराजुलीले उक्त भवनको शिलन्यास गरे । ४५ हजार वर्गफिटमा उक्त भवन निर्माण हुने इन्जिनियर अर्जुन थापाले जानकारी दिए । फ्रेम स्ट्रक्चरमा निर्माण हुने उक्त भवनमा लिफ्टसहित तीन सय जना अट्ने सभाकक्ष पनि रहनेछ । कालिगण्डकी/अबिस /बिकोन जेभिले आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । महानगरका प्रमुख पराजुलीले भवनको शिलन्यास गर्दै भीडभाड रहित ढङ्गले सेवाग्राहीले सेवाप्राप्त गर्नुका साथै राजश्व वृद्धिमा नयाँ भवनबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसैगरी जनसहभागिता सहयोगमा विराटनगर विमास्थल जाने पाँच सय मिटर सडकको शौन्दर्यकरण कार्यको महानगर प्रमुख पराजुली र उपभोक्ता समितिका अध्यक्ष पुण्य भट्टराईले संयुक्त रूपमा शिलन्यास गरे । उक्त क्षेत्रमा ३० वटा ट्रोल लाइटिङ्ग सहित ह्याङ्गीङ गार्डेन, अपाङ्ग मैत्री दुवै क्षेत्रमा दुई फिट एकनासको स्ल्याप , प्लान्टेशन, जेब्रा क्रस निर्माण हुने महानगरपालिकाका पुनम दाहालले जानकारी दिए ।
महानगरपालिकाको अनुदान ७६ लाख २७ हजार ९३० र जनसहभागिताबाट २८ लाख ८३ हजार ३९८ गरी जम्मा ९६ लाख ११ हजार ३२९ को लागतमा आगामी २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
महानगर प्रमुख पराजुलीले यस निर्माण कार्यले प्रदेशको एक मात्र क्षेत्रीय विमानस्थलमा स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धिका साथै आर्थिक चलयमानमा सहयोग पुग्ने बताए ।