पूर्वाञ्चल खबर
आफू र आफ्नो व्यवसायलाई बदनाम गराउने नियतले भिडियो बनाएर चरित्रहत्या गरिएको भन्दै युवा व्यवसायी नितेश तुलाधरले कानुनी उपचार खोज्ने बताएका हुन्।
गत कात्तिक २ गते दशैको महाअष्टमीका दिन ‘विश्वराम कार्की’ नामक फेसबुक पेज र टिकटकबाट एउटा भिडियो सार्वजनिक गरिएको थियो। भिडियोमा कार्की र एक युवतीले पार्किङमा रहेको जर्मन सेफर्ड जातको बिरामी कुकुरलाई ‘खानासमेत नदिई परिवार दशै मनाउन गएको’ भन्दै बेवारिसे छाडिएको आरोप लगाएका थिए। उक्त भिडियो यो समाचार तयार पार्दासम्म ४ लाखभन्दा बढी पटक हेरिएको छ भने १२ हजारभन्दा बढीले लाइक गरेका छन्।
सामाजिक सञ्जालमा ‘भ्युज’ बढाउने नाममा तथ्य नबुझी आफ्नो चरित्रहत्या गरिएको व्यवसायी तुलाधरको भनाइ छ। आफू कुकुर पाल्ने सौखिन रहेको र १२ वर्षदेखि यही जातको कुकुर पाल्दै आएको उनले स्पष्ट पारे।
‘दशैको दिन पनि बिहानै खाना खुवाएर मात्र कुकुरलाई पार्किङमा राखेको थिएँ,’ तुलाधरले भने, ‘कुकुरलाई लुतो भएका कारण विगत १० दिनदेखि पशु चिकित्सक बोलाएर घरमै नियमित उपचार गराइरहेका छौं। छालाको रोगले गर्दा भुत्ला झरेको हो, बेवारिसे छाडिएको होइन। त्यस दिन हामी घरमै थियौं।’
सत्यतथ्य नै नबुझी भिडियोमार्फत अतिरञ्जित रूपमा भ्रम फैलाएर आफ्नो मानहानि गरिएकाले त्यस्ता व्यक्तिविरुद्ध साइबर अपराधअन्तर्गत उजुरी दिने उनले बताएका छन्। ‘हामीले यथार्थ यस्तो हो भनेर चिकित्सकले दिएको पुर्जी र औषधि देखाउँदा पनि उल्टै भ्रम फैलाइएकाले अब कानुनी उपचार खोज्न बाध्य भएका हौं,’ उनले भने।