खबर पूर्वाञ्चल
विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए ।
तर, गोलपछि सम्हालिन नसक्दा एपिएफले गोल फर्कायो । एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए ।
खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो । खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन्न् । १३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे ।
४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पास्ट नजिकैबाट बाहिरियो ।
सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई आजको खेलको म्यान अफ द म्याच भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे ।
मंगलबारको अर्काे क्वार्टर फाइनल खेल संकटा क्लब र थ्री स्टर क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।