RUMPUM
animated ellipse animated ellipse

मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका विरामीको मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ फाल्गुन २०७८, बिहीबार १०:४१
6.48k
Shares
विराटनगर/ मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका विरामीको मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण बनेको छ ।

सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटनामा परेर घाइते बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउँको आज विहान उपचारको क्रममा मृत्यु मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण बनेको हो ।

उपचारका क्रममा विराटनगरको लाइफ गार्ड अस्पतालमा विहान ५ः३० बजेतिर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार को २८ प ३८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार राति १० बजेतिर गम्भीर घाइते भएका उराउँलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेर मोटसाइकल चलाएका कारण दुर्घटना भएको खुलेको छ । उपचारकै क्रममा उराउँको मृत्यु भएपछि अस्पताल परिषर विहानैदेखि तनावपूर्ण बनेको छ । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठका अनुसार घाइतेको मृत्यु भएपछि आफन्त र परिवारका सदस्यले शव बुझेर घरतिर लैजाने तयारी गरेका थिए । तर त्यत्तिकैमा भेला भएको एउटा समूह शव लैजान नदिइकन अस्पतालविरुद्ध नाराबाजी र प्रदर्शनमा उत्रिएको उनको भनाइ छ । आक्रोसित भीडले अस्पताल बाहिर टायर बालेर नाराबाजी र प्रदर्शन गरिरहेको छ ।

आन्दोलनमा उत्रिएकाहरुले बरगाछी–चाँदनी चोक सडकखण्ड अवरुद्ध बनाएका छन् । सडकमा सवारीसाधनसमेत चल्न नदिकन अस्पताल प्रवेशद्धारमा टायर बाल्दै आन्दोलन हुन थालेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । ‘दुर्घटनाका घाइतेको मृत्यु भएपछि भेला भएको भीडले अस्पतालविरुद्ध आन्दोलन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘कुनै पनि अप्रीय घटना हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर आक्रोसित बनेकाहरुलाई सम्झाईबुझाई गर्ने काम भइरहेको छ ।’

आक्रोसित भीडले नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गर्न थालेपछि अस्पताल वरपरको वातावरण तनावग्रस्त बनेको छ । अस्पताल प्रवेश गर्ने मुख्य गेटमै टायर बालेर आन्दोलन हुन थालेपछि उपचारका लागि ल्याइएका बिरामीलाई अस्पताल भर्ना गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

अस्पताल भर्ना गर्ने वित्तिकै उपचारमा चासो नदिएका कारण दुर्घटनाका घाइतेको मृत्यु भएको स्थानीय वेदराज राउतले बताए । चिकित्सकले ध्यान नदिँदा र उपचारमा लापरबाही गरिँदा घटना भएपछि आफन्त, परिवारका सदस्य र स्थानीय आक्रोसित बनेर अस्पतालविरुद्ध आन्दोलन थालेको उनको भनाइ छ ।

अन्त्येष्टिका लागि शव लैजान परिवारका सदस्य राजी भए पनि तेस्रो पक्ष आएर अस्पतालविरुद्ध लफडा गरिरहेको प्रशासन प्रमुख श्रेष्ठले बताए । ‘गम्भीर अवस्थाका घाइतेको उपचारका क्रममा मृत्यु भए पनि अस्पताल र चिकित्सकबाट लापरबाही भएको छैन,’ उनले भने, ‘तर आफन्त र परिवारका सदस्यबाहेकका बाहिरका मान्छे आएर अस्पताल बाहिर आन्दोलन गरिरहेका छन् ।’ उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पतालमा आन्दोलन हुनु दुःखद् भएको श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर