पूर्वाञ्चल खबर
बञ्जरा एग्रो प्रा.लि.को कार्यालयमै आज आयोजित एक कार्यक्रमबीच जुनियर ब्याडमिन्टन वल्र्ड च्याम्पियन प्रिन्स दाहाल र एग्रोको तर्फबाट संचालक संजय चापागाईंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता भएसँगै अब प्रिन्स दाहालले खेल्ने जुनसुकै प्रतियोगितामा लगाउने टिसर्टको अगाडि दाहिनेपट्टिको छातिमा बञ्जरा एग्रोको लोगो हुनेछ । यस्तै बन्जरा एग्रोले उत्पादन गरेका कृषिजन्य वस्तुमा प्रिन्सको फोटो टाँसिने छ ।
कार्यक्रममा बोल्दै राखेपको बोर्ड सदस्य सुवास श्रेष्ठले प्रिन्स दाहाललाई २०२४ हुने ओलम्पिकमा जसरी पनि सहभागी गराउने बताए । उनले अहिलेसम्म प्रिन्सले आफ्नै प्रयासमा इतिहास रचेको भन्दै खेलकुद परिषदको तर्फबाट उनलाई अबका अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन सबै खालको सहयोग गर्ने बताए । यस्तै ब्याडमिन्टनका अन्तर्राष्ट्रिय उम्पायर अर्यालले कृषि क्षेत्रबाट खेलकुदको क्षेत्रमा भएको यो अत्यन्तै ठूलो सहयोग भन्दै बञ्जरा एग्रोलाई धन्यवाद दिए ।
बञ्जरा एग्रोका संचालक संजय चापागाईंले आफूहरुले खेल क्षेत्रमा र त्यसमा पनि ब्याडमिन्टनलाई नै रोज्नुको कारणबारे प्रष्ट पारेका थिए । कार्यक्रमको अवसरमा दाहाल र अर्याललाई बञ्जरा एग्रोले सम्मानसमेत गरेको थियो ।
बञ्जरा एग्रो विराटनगरकै गजेन्द्र शर्मा बञ्जरा तथा चापागाईंको संयुक्त लगानीमा विराटनगरमा स्थापना गरिएको कृषि फार्म हो । गजेन्द्र शर्मा हाल चीनको राजधानी बेइजिङमा बस्छन् । हालसम्म ८ करोडभन्दा बढी लगानी भएको एग्रोले पशुपालन, कृषि, दूध तथा दुग्धजन्य पदार्थको उत्पादनमा जोड दिने जनाएको छ ।