खबर पूर्वाञ्चल
माल्दिभ्समा आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेर इतिहास रचेको हो ।
सन १९९३ मा सुरू भएको साफ च्याम्पियनसिपमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो संस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।
मालेस्थित नेशनल स्टेडियममा भएको खेलका पहिलो हाफमा १–० गोलले पछि परेको नेपाललाई फाइनल र्पुयाउन अञ्जन विष्टले पेनाल्टीबाट गोल गरे । उनले खेलको ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई फाइनलमा र्पुयाएका हुन् । यस अघि नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो ।
पेनाल्टी एरिया बाहिर आएर फल गरेपछि बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए। त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीविरुद्ध नेपालले पेनाल्टी पाएको थियो । त्यसलाई अञ्जनले गोलमा परिणत गरे ।
बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।
अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्सविचको विजेतासँग खल्नेछ । यो दुई टोलीबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दबाव छ ।