animated ellipse animated ellipse

झी पुचःमा नेवारी कन्याको बेलविवाह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७७, सोमबार १९:४४
441
Shares
विराटनगर / नेपाल विविध जातजाति र धर्म संस्कृति सुसज्जित मुलुक हो । यहाँ बस्ने हरेक जातिको आ–आफ्नै रीति र परम्परा रहेको छ । त्यसैमध्येको एक हो नेवारी समुदायको बेलविवाह ।

नेवारी समुदायमा कन्याहरुको बेलविवाह गरिदिने प्रचलन छ । ५ वर्षदेखि ११ वर्षसम्मका कन्याहरुको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो समय पाश्चात्य संस्कृतिको अतिक्रमणमा पर्दै गएको छ नेपाली संस्कृति । तर, समाजका केही संस्थाहरु आफ्नो संस्कृति र परम्परालाई जोगाउन कम्मर कसेर लागेका छन् । विराटनगरस्थित झी पुचः पनि नेवारी भाषा, संस्कृति र परम्पराको जर्गेनामा चार दशकभन्दा लामो समयदेखि सक्रिय छ । झी पुचःले गर्ने विविध कार्यक्रममध्ये बेलविवाह पनि एक हो ।

बेलविवाहलाई नेवारी भाषमा ई भनिन्छ । झी पुचःको भवनमा सोमबार सुरु भएको सामूहिक बेलविवाह मंगलबार समापन हुँदैछ । झीपुचः स्थापना भएदेखि नै निरन्तर रुपमा बेलविवाह सञ्चालन गर्ने गरेको अध्यक्ष जयन्त प्रधानाङ्गले जानकारी दिऐ । बेलविवाह गर्दा नेवार समुदायका महिलाहरु श्रीमानको निधनपछि पनि विधवा नहुने परम्परा रहेको उनको भनाइ छ ।

विगत ४० वर्षदेखि झी पुचःले बेलविवाह, ब्रतबन्ध, गाईजात्रालगायतका गतिविधि सञ्चालन गरिरहेको झी पुचःका उपाध्यक्ष भविसकुमार श्रेष्ठ बताए । विगतमा ४० जनाभन्दा बढी सहभागी हुने गरे पनि यसपटक कोभिडका कारण २० जना कन्यालाई मात्रै समावेश गरिएको श्रेष्ठको भनाइ छ ।

बेल विवाह नेवारी कन्याहरुको गर्नै पर्ने संस्कार भएको महासचिव शरद श्रेष्ठले बताए । उनका अनुसार ५ देखि ११ वर्षभित्रका कन्याको विधिपूर्वक बेलविवाह गरिन्छ । नेवारी संस्कृतिमा बेलविवाहको धेरै नै महत्व रहेको झी पुचःका पूर्वअध्यक्ष राजन श्रेष्ठ बताए । सबै वर्गका मानिसको सजिलोका लागि र कमजोर आर्थिक अवस्था भएकाहरुलाई सामूहिक बेलविवाह निकै महत्वपूर्ण भएको विराटनगर–११ बाट कार्यक्रममा सहभागी मानव श्रेष्ठले बताए । सामूहिक बेलविवाहले आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई निकै नै सहज हुने उनको भनाइ छ ।

बेलविवाहमा बेहुलीझैं कन्याहरु चिटिक्क सिंगाएर बस्छन् । नेवारी परम्पराअनुसार नेवार पुरोहितले विधिपूर्वक बेल विवाह सम्पन्न गराउँछन् । बेलविवाह गर्दा श्रीमानको निधन भएपछि पनि रातो टीका, सारी र चोलोलगायतका रंगीन लुगा लगाउन सकिने भएकाले यसको छुट्टै महत्व रहेको नेवारी संस्कृतिका जानकार तोरेन्द्रमानसिंह प्रधानको भनाइ छ । बेलविवाहमा पूर्वका झापा, सुनसरी, धनकुटालगात जिल्लाबाट कन्याहरु सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर