खबर पूर्वाञ्चल
असोज ३ गते इलामकी युवतीले रौतामाई गाँउपालिका ७ मार्कुचेका २४ वर्षीया सुदिप कार्की (परियार)सँग विवाह गरेर ठगिए पछि विवाह गर्ने युवक पक्राउ परेका हुन् ।
इलामकी एक युवतीले रौतामाई गाँउपालिका ७ मार्कुचेका सुदिप कार्की (परियार) सँग समाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । त्यही चिनजानलाई उनीहरुले म्यासेन्जर च्याटमा सक्रिय बनाउँदै सम्बन्धलाई निरन्तरता दिए । सामान्य हाई हेल्लोबाट सुरु भएको उनीहरुको कुराकानी मायाप्रेममा परिणत भयो ।
केहीसमयको अन्तरालपछि च्याटमा सीमित उनीहरुको संवाद फोनमा समेत हुन थाल्यो । दैनिक जस्तो फोनमा हुने लामो कुराकानीले प्रेमको यात्रामा दौडिएका युवती र सुदिपको सम्बन्ध प्रगाढ बन्दै गयो । प्रविधिको माध्यमबाट जोडिएको प्रेम सम्बन्धलाई उनीहरुले विवाह बन्धनमा बाँधिने निधो गरे ।
संवादको क्रममा सुदिपले आफू अमेरिका जान लागेको प्रमिलालाई सुनाएका थिए । सुदिपको अमेरिका उडानको तयारी र प्रमिलाको नर्सिङ क्षेत्रको पढाईमा स्वार्णिम सपना सजाएर सुदिपले प्रमिलालाई विवाहको प्रस्ताव राखे ।
विदेशी भूमिमा सपना देख्नेमध्येका सुदिप र इलामकी युवतीको प्रेम सम्बन्ध र विवाहको योजना परिवारसम्म पुग्यो ।
परिवारको सल्लाह अनुसार असोज ३ गते युवतीको अभिभावकले विधिपूर्वक टिकाटालो गरेर सुदिपलाई जीवनभरका लागि सुम्पेको छोरीको वैवाहिक यात्रा असोज ४ गते जिल्ला प्रहरी कार्यालय उदयपुर पुगेर ब्रेक लाग्यो ।
‘जातसम्म ढाँटियो
अमेरिकामा स्वर्णिम सपना देखाएर विवाह गरेका युवतीलाई सुदिपले अमेरिका जाने भनेर मात्रै ढाँटेनन् । प्रमिलाको कुरा सुन्दा सबैभन्दा ठूलो झुट उनले आफैमाथि गरे । त्यो हो, फरक जात । उनी दलित समूदायका व्यक्ति हुन् । लेख्दा कार्कीसँग परियार पनि लेख्थे । नागरिकतामा भने ‘कार्की ढोली’ लेखिएको छ ।
उनलाई आफु दलितभित्रको कार्की ढोली भएपनि कार्की थर मात्रै बताउने गरेका थिए । तत्कालै अमेरिका जान लागेको भन्दै प्रमिलालाई ललाईफकाई विवाह गरेको आरोप लागाउँदै प्रमिला र उनको परिवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दर्ता गराउन पुगेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार केटी र केटीका आफन्तहरुले केटा कार्की नभएर दलितभित्रको कार्कीढ ोली भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएका थिए ।
सुदीपले अमेरिकाको भिसासमेत नक्कली बनाएर केटीलाई देखाएर झुक्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल केटीलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी गौतमले बताए । उनका अनुसार आरोपित सुदीपलाई भने हिजो अभद्र ऐन अन्तरगतको मुद्दा चलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।