खबर पूर्वाञ्चल
मुख्यमन्त्री आचार्यले दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् । थपिएका मन्त्रीहरुले आजै साँझ सपथग्रहण समेत गरेका छन् ।
यसरी थपिने मन्त्रीहरुमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ ।
यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए ।
नयाँ मन्त्रीमण्डल विस्तार गरेसँगै प्रदेश १ को मन्त्रीपरिषद ८ सदस्यीय भएको छ । मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो बरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको बरियतामा नियुक्त भएका हुन् ।
संविधान अनुसार मुख्यमन्त्रीको पार्टी विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । नेकपा एमालेको विभाजनले भदौ ९ गते निर्वाचन आयोगबाट बैधानिकता पाएकोले असोज ८ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने दावी विपक्षी गठबन्धनले गरिरहेको बेला उनी भने असोजको अन्तिम साता मात्र विश्वासको मत लिने तयारीसहित मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
सभामुखसहित ४१ सदस्यमात्र कायम रहेको र अन्य कुनै विपक्षी दलहरुले समर्थन गर्ने सम्भावना नदेखिएकोले उनले विश्वासको मत पाउने सम्भावना छैन ।
विश्वासको मत पाउने संभावना नभएपनि बढिमा २४ दिनका लागि मन्त्री नियुक्तिको तयारीमा मुख्यमन्त्री जुटेका हुन् । प्रदेशसभामा बहुमत सिद्ध गर्न ४७ सांसदको आवश्यकता पर्नेमा अहिले विपक्षी गठबन्धनमा ५० सांसद छन् ।