खबर पूर्वाञ्चल
मोरङ र सुनसरी करिडोरका उद्योग, प्रतिष्ठानहरूले अझै पनि सामाजिक सुरक्षा कोष लागू नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
नेपाल टे«ड यूनियन महासंघ जिफन्ट प्रदेश १ ले सामाजिक सुरक्षा कोष लागू गर्न माग राख्दै आज उद्योग संगठन मोरङ र मोरङ व्यापार संघमा ध्यानाकर्षण पत्र बुझाएको छ । जिफन्टले अगुवाइ गर्दै यहाँका श्रमिकहरू भेला भएर उद्योग संगठन र मोरङ व्यापार संघका पदाधिकारीहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
जिफन्टका प्रदेश १ अध्यक्ष किशोर धमलासहितको टोलीले सामाजिक सुरक्षा कार्यान्वयन सम्बन्धमा ध्यानाकर्षण गराएको हो । जिफन्टले उद्योग संगठन र मोरङ व्यापार संघमा आवद्ध सबै उद्योग प्रतिष्ठानले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी नियमित रुपमा योगदान रकम दाखिला गर्न गराउन पत्राचार गर्न माग समेत गरेको छ ।
‘सामाजिक सुरक्षा ऐन अनुसार हरेक महिना श्रमिकको पारिश्रमिक कट्टा गर्ने तर सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचीकृत नगरी श्रमिकको रकम रोजगारदाता आफैंले भोगचलन गर्नु अुनचित काम हो,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘त्यसैले हामी आग्रह गर्दछौं यस संस्थामा आवद्ध सबै उद्योग, प्रतिष्ठान तथा संघ संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी नियमित रुपमा योगदान रकम दाखिला गर्न गराउन यहाँबाट पत्राचार गरियोस् ।’
जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवम् श्रम ऐन २०७४ त्रिपक्षीय सहमतिमै जारी गरेको स्मरण गराउँदै ऐन कार्यान्वयनमा पनि तदारुकता देखाउन आग्रह गरेको छ । ‘हामीले त्रिपक्षीय सहमतिबाट योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवम् श्रम ऐन २०७४ जारी गरेको कुरा बिर्सनु हुँदैन,’ पत्रमा भनिएको छ, ‘तसर्थ प्रचलित ऐन कानून अनुसार सञ्चालनमा रहेका सबै उद्योग, प्रतिष्ठान, कम्पनी, संघसंस्था, फर्म एवम् त्यहाँ कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गर्न गराउन तथा श्रम कानूनको अनिवार्य कार्यान्वयन गर्न जिफन्टको तर्फबाट ध्यानाकर्षण पत्र पेश गरेका छौं ।’
सो ध्यानाकर्षण पत्र मंगलबार उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल तथा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्ष नविन रिजाललाई हस्तान्तरण गरिएको थियो । पत्र बुझेपछि मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले सामाजिक सुरक्षा कोष अपरिहार्य रहेकोले केही परिमार्जन गरेर लागू गरिने बताए ।
‘मजदुरको हितमा रहेको यो सामाजिक सुरक्षा कोष लागू हुन्छ,’ उनले भने, ‘कोषमा रहेका केही विषय परिमार्जन गरिनुपर्ने हाम्रो माग हो ।’ जिफन्टका प्रदेश अध्यक्ष धमलाले सामाजिक सुरक्षा कोष लागू नगर्ने उद्योग, प्रतिष्ठानहरूमा गएर अब धर्ना र आन्दोलन पनि गरिने बताए । ‘प्रराम्भिक चरणमा हामीले ध्यानाकर्षण गराएका छौं । अब पनि उद्योगहरूले सामाजिक सुरक्षा कोष लागू नगरे चरणबन्द आन्दोलनमा उत्रिनेछौं,’ उनले भने, ‘सामाजिक सुरक्षा कोष लागू गरिएको उद्योगलाई सम्मान गरिनेछ ।’