खबर पूर्वाञ्चल
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा एकमहिने तालिम आज सम्पन्न भएको हो । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक सन्तलाल श्रेष्ठ र उपनिर्देशक हरिकृष्ण कोइरालाले सहजीकरण गरे ।
समापन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले प्रतिष्ठानले देशभरका स्थानीय पालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई तालिम दिने गरेको जानकारी दिए । उनले सुगममा मात्रै नभएर प्रतिष्ठानले दूरदराजमा समेत पुगेर तालिम दिने गरेको सुनाए । उनले तालिममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । चौधरीले सकारात्मक सोचका साथ अगाडि बढेमा जनअपेक्षाअनुसारका कार्यसम्पादन हुने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले एकमहिने तालिमले कर्मचारीहरुमा निखारता आउनुका साथै सकारात्मक सोचको समेत विकास भएको उल्लेख गरे । उनले छिटोछरितो रुपमा सेवा प्रवाह गर्न सके सेवाग्राही सन्तुष्ट हुने बताए । पराजुलीले तालिमले कर्मचारीहरुलाई सेवा प्रवाहमा छिटोछरितो र प्रभावकारी कार्यसम्पादनमा बल पुग्ने विचार राखे ।
सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले स्थानीय तहमा काम गर्नेले कर्मचारीमा एउटै मात्रै क्षेत्रको ज्ञान र अनुभव भएर मात्रै नहुने बताए । उनले सरकारी कार्यालयबाट हुने विभिन्न सेवा प्रवाहका विषयमा जानकारी हुनुपर्नेमा जोड दिए । एकमहिने तालिम कर्मचारीहरुको क्षमता विकासमा महत्वपूर्ण उपलब्धि भएको थपलियाको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरुका तर्फबाट रमेश कार्की, हीरा यादव, संजीव भट्टराई, सुनिता पौडेललगायतले आफ्ना अनुभव सुनाए । स्तरवृद्धिका लागि सेवाकालीन प्रशिक्षण आवश्यक रहेकाले महानगरमा सो तालिम राखिएको महानगरको सूचना अधिकारीसमेत रहनुभएकी प्रशासन शाखाका अनिता कोइरालाले बताइन् । सहभागीहरुका तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशकसहित प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । हरेक दिन बिहान ६ देखि साढे १० बजेसम्म सञ्चालित तालिममा महानगरपालिकाका अधिकृतस्तर छैटौं तहका ४१ जना कर्मचारीहरु सहभागी भएको कोइरालाले जानकारी दिए ।