पूर्वाञ्चल खबर
मोरङ प्रहरीका अनुसार सुनवर्षी–८ हरिचन्द्रगढीका २१ वषीय मनोहर मियाँको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो । भारतमा चार जनालाई मारेर नेपाल छिरेको जङ्गली हात्तीलाई आज विहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेपछि धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो ।
मियाँ हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा विहान उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । स्थानीयले धपाउन थालेपछि भागेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको बताइएको छ ।
हात्ती छेउमै आइपुग्दा पनि फोटो खिच्ने धुनमा रहेका उनले पत्तो नपाएको र हात्तीले आक्रमण गरेको बताइएको छ । भारतमा मानवीय क्षति गरेपछि विराटनगर–१८ बुधनगरको भेडियारी हुँदै हात्ती बिहीबार राति १० बजेतिर नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । भारतको सोनापुर र फुलगाहामा त्यही हात्तीले बिहीबार चार जनालाई मारेको बुझिएको छ ।
मार्न थालेपछि भारतबाट लेखेट्ने क्रममा भागेर जङ्गली हात्ती नेपाल आइपुगेको जानकारी प्रहरीले दिएको छ । नेपाल छिरेपछि बुधनगरबाट मोरङको जहदा हुँदै पूर्वतर्फ लागेको हात्तीले सुनवर्षीको कुरेलीमा पुगेर मानवीय क्षति गराएको हो ।