RUMPUM
animated ellipse animated ellipse

कोरोनाको भुंग्रोमा परेको सल्लेरी गाउँ बचाउन तीन युवाको उदाहरणीय अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ जेष्ठ २०७८, मंगलवार १८:४४
531
Shares
ओखलढुंगा/ एक साता अघि जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरी गाउँका २७ जनामा कोरोना पुष्टि भयो । सल्लेरी गाउँमा त्यतिबेला पहिलो पटक कोरोना संक्रमण देखा परेको हो । पहिलो पटकमै संक्रमण समुदायस्तरमा फैलियो ।

कोरोना संक्रमणबाट गम्भीर विरामी भएका स्थानीयलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स भनेको बेला नपाइँदा समस्या हुन थाल्यो । सो गाउँका २ जनालाई ३ लाख ३० हजारका दरले पैसा तिरेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगियो । आर्थिक अवस्था सामान्य भएकाहरुको यसरी उपचार गर्न सम्भव थिएन । त्यसैले कोरोनाको भुंग्रोमा परेको सल्लेरी गाउँमा थप संक्रमण फैलिन नदिन र गम्भीर विरामी भएकाहरुलाई बेलैमा उपचार व्यवस्थापन आवश्यक थियो ।

संक्रमणबाट गाउँलाई जोगाउन स्थानीय तीन युवाहरु मिलेर सहयोग अभियान थाले । गाउँमै रहेका सामाजिक क्षेत्रमा समेत सक्रिय युवा नेता सर्वधन तामाङ, देशवीर तामाङ र युकेमा रहेका दीलीपकुमार तामाङले थालेको अभियानमा वडा नं ८ का वडाध्यक्ष हेमकुमार तामाङ, बुद्धिराज तामाङ, एकराज तामाङ, धनराज तामाङलगायतले समेत साथ दिए ।

उनीहरुले आफ्नै गाउँका विभिन्न पेशा व्यवसायमा लागेकाहरुसँग आर्थिक सहयोग संकलन गर्न थाले । उनीहरुको अभियानमा अहिले ९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भइसकेको छ । सो रकमबाट उनीहरुले औषधि, अक्सिमिटर, सुगर नाप्ने मेशिन, थर्मोमिट, पीपीई सेट, मास्क, सेनिटाइजरलगायतका सामग्रीहरु गाउँमा बाँडिरहेका छन् । स्वास्थ्य संस्था र कार्यालयहरुलाई वितरण गरिरहेका छन् । हाम्रो अभियान गाउँमा थप संक्रमण फैलिन नदिने नै हो अभियानकर्तामध्येका एक सर्वधन तामाङले भने, यो अभियानबाट कोरोनाको उपचारमा समस्या भएकाहरुलाई पनि सहयोग गछौ ।

कोरोना संक्रमितलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स नपाएपछि उनीहरुले एउटा जिप मासिक भाडा तिरेर व्यवस्था गरेका छन् । जिपले वडा नं ८ को वडाभरि सेवा दिनेगरी व्यवस्था मिलाएका छन् । संक्रमितहरुलाई औषधि र अण्डा, हर्लिक्सलगायतका पोषिलो खानेकुराहरुको घरैमा लगेर वितरण गर्दै आएका छन् ।

उनीहरूको यो अभियानलाई स्वास्थ्य चौकी केत्तुकेका ईञ्चार्ज उमेश तामाङले समेत साथ दिएका छन् । उनले विरामीहरुको स्वास्थ्य अवस्था परीक्षण र सल्लाह दिँदै आएका छन् । आज मात्रै सल्लेरी गाउँमा थप २७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सो वडामा ५४ जनामा कोरोना संक्रमण देखा परिसकेको छ । संक्रमण फैलन नदिन समुदायस्तरमै बनेको युवाहरुको यो अभियान वास्तवमै उदाहरणीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर