खबर पूर्वाञ्चल
मालपोत कार्यालय रङ्गेलीले बिहीबार उक्त कीर्ते (फर्जी) श्रेस्ता खारेज गरी साविककै श्रेस्ता कायम गर्ने निर्णय गरेको हो । यो प्रकरणमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला अदालतले मालपोतका एक सुरक्षा गार्ड, एक नायव सुब्बा, एक कम्प्युटर अपरेटर र जग्गा आफ्नो नाममा ल्याउने भूमाफिया गरी चारजनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
फर्जी श्रेस्ता खारेज गरी साविककै श्रेस्ता कायम गर्ने निर्णय गरेपछि सुनवर्षी नगरपालिका–६ मा दशकौँदेखि बसोबास गर्दै आएका २० घरपरिवार सुकुम्बासीको उठीबास लाग्ने खतरा तत्कालका लागि टरेको छ ।
यसरी बुनिएको थियो कीर्ते कार्य
अनुसन्धानबाट खुलेअनुसार सुन्दरहरैँचा नगरपालिका–१ का भीमप्रसाद सिंहले मालपोतका कर्मचारीसँगको मिलेमतोमा सरकारी जग्गा हडप्ने योजना बनाएका थिए । यसका लागि उनीहरूले जग्गाको अभिलेख राखिने मूल ढड्डा (श्रेस्ता) को सक्कली पाना नै च्यातेर फ्याँक्ने र त्यस ठाउँमा आफ्नो नाममा तयार पारिएको नक्कली अभिलेख टाँस्ने काम गरेका थिए ।
मालपोत कार्यालय रङ्गेलीका प्रमुख सुनिल पौडेलका अनुसार, कर्मचारीहरूले आर्थिक प्रलोभनमा परेर यो अपराध गरेको स्वीकार गरिसकेका छन् । उनीहरूले साविक जग्गाधनी भागवत साह तेलीको नाममा रहेको गोविन्दपुर गा.वि.स. वडा नं. २ (ग) को कित्ता नं. २३० को जग्गाको मोठ नं। ३७-२-२३६ को श्रेस्ता च्यातेको देखिएको उनले बताए । उक्त जग्गा मिति २०६६-०२-१० को राजीनामाले खारेज भइसकेको थियो । त्यही खारेज भइसकेको श्रेस्ताको अभिलेखलाई पन्छाएर त्यसैको आडमा भीमप्रसाद सिंहको नाममा गोविन्दपुर गा.वि.स. ९हाल सुनवर्षी न.पा. वडा नं. ६ (ग) को कित्ता नं. ११० को ०–१७–३ ९सत्र कठ्ठा तीन धुर० जग्गाको नयाँ श्रेस्ता र धनीपुर्जा तयार पारिएको थियो ।
घटना बाहिरिएपछि मालपोत कार्यालयले गरेको छानबिन र बिहीबार जारी गरेको टिप्पणी आदेशमा यो अपराधको सम्पूर्ण विवरण उल्लेख छ । आदेशमा भनिएको छ, “भागवत साह तेलीको खारेजी श्रेस्ता च्याती भीमप्रसाद सिंहको नाममा लुज श्रेस्ता तयार पारेको देखिन्छ ।” छानबिनका क्रममा उक्त जग्गा साविक कि।नं। ९४ बदर हुँदै कि.नं. ११० भएको र नापी कार्यालयको नक्साअनुसार उक्त जग्गा बक्राहा नदीको बगर क्षेत्रमा पर्ने देखियो, जहाँ हाल उजुरीकर्ता (सुकुम्बासी परिवार) हरूले भोगचलन गरिरहेका छन् ।
आदेशमा थप भनिएको छ, “उक्त कीर्ते श्रेस्तामा लेखिएको अक्षर यसै कार्यालयमा कार्यरत कर्मचारीसँग मिल्ने र निजले आफ्नो गल्ती स्वीकार गरी लिखित स्पष्टीकरणसमेत पेश गरेका छन् ।” मालपोत ऐन, २०३४ को दफा २४ र २५ अनुसार दर्ता नभएको र बक्राहा खोलाले चर्चेको सार्वजनिक जग्गा आवाद गर्न नहुने भन्दै कार्यालयले भीमप्रसाद सिंहको नामको कीर्ते श्रेस्ता बदर गरी साविककै श्रेस्ता कायम गर्ने निर्णय गरेको हो ।
यो सङ्गठित अपराधको पर्दाफास नाटकीय ढङ्गले भएको थियो । २०८२ साल वैशाख ७ गते आफ्नो नाममा कीर्ते लालपुर्जा बनाएका भीमप्रसाद सिंह २३ भदौमा डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन पुगे । आफ्नो घरआँगनमा एक्कासि डोजर गर्जिएको देखेपछि दशकौँदेखि त्यहीँ बस्दै आएका स्थानीय त्रसित बने । उनीहरूले प्रतिवाद गर्दा सिंहले उक्त जमिनको लालपुर्जा आफूसँग रहेको दाबी गरेपछि मात्रै स्थानीयले आफूहरूमाथि कति ठूलो षड्यन्त्र भएको थियो भन्ने थाहा पाए । त्यसपछि उनीहरूले मोहम्मद अख्तुर रहमानको अगुवाइमा मालपोत कार्यालयमा उजुरी दिए र यो विषय सार्वजनिक भयो ।
स्रोतका अनुसार यो पूरै अपराधको मुख्य योजनाकार र सूत्राधार मालपोत कार्यालय रङ्गेलीका सुरक्षा गार्ड कामदेव मण्डल हुन् । २०७२ सालमा मालपोत स्थापना भएदेखि नै कार्यरत मण्डलले कार्यालयको हरेक प्रक्रिया र कमजोरीबारे गहिरो जानकारी राख्थे । सुरुमा कार्यालय सहयोगी र हाल सुरक्षा गार्डको भूमिकामा रहेका उनैले भूमाफिया भीमप्रसाद सिंहसँग सेटिङ मिलाउने, कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा पार्ने र ढड्डाबाट सक्कली कागजात गायब पारेर नक्कली टाँस्नेजस्तो कामको नेतृत्व गरेको आरोप छ ।
यस प्रकरणमा कार्यालयका नायव सुब्बा (नासु) रेवती अधिकारी र कम्प्युटर अपरेटर अर्जुन न्यौपानेको पनि प्रत्यक्ष संलग्नता देखिएको छ । उनीहरू तीनैजनालाई स्पष्टीकरण सोधिएको र थप विभागीय तथा कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको मालपोत प्रमुख पौडेलले बताए । भूमाफिया सिंहको पृष्ठभूमि पनि आपराधिक रहेको खुलेको छ । स्थानीयका अनुसार उनी यसअघि लागूऔषध मुद्दामा जेल सजायसमेत भुक्तान गरिसकेका व्यक्ति हुन् ।
अदालतले दियो चारलाई पक्राउ गर्न अनुमति
फर्जी श्रेस्ता कायम गरेर ऐलानी जग्गा व्यक्तिको नाममा ल्याउने तीनजना रङ्गेली मालपोत कार्यालयका कर्मचारी र जग्गा आफ्नो नाममा ल्याउने भीमप्रसाद सिंहसहित चारैजनालाई मोरङ जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मुख्य योजनाकार भनिएका सुरक्षा गार्ड कामदेव मण्डल, नायव सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गा हडप्न खोज्ने भीमप्रसाद सिंहलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले उनीहरूलाई पक्राउको लागि अनुमति माग गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
बुधबार पीडितहरूले सामूहिकरूपमा इलाका प्रहरी कार्यालय रङ्गेलीमा मालपोतका नायव सुब्बा रेवती अधिकारी, सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपाने, सुरक्षा गार्ड कामदेव मण्डल र जग्गाधनी बनाइएका भीमप्रसाद सिंहविरुद्ध ‘लिखत सम्बन्धी कसूर’ मा किटानी जाहेरी दर्ता गराएका थिए । इलाका प्रहरी कार्यालय रङ्गेलीले उनीहरूलाई पक्राउ गर्न तयारी थालेको जनाएको छ ।