खबर पूर्वाञ्चल
विराटनगरमा नक्कली रेम्डेसिभिर बनाएर कोरोना संक्रमतिको उपचारका लागि बिक्री गर्ने गिरोहका मुख्य नाईके विराटनगर – ४ नोबेल अस्पताल अगाडीको साथी फार्मेसीका सञ्चालक २६ वर्षीय सोनु आलम दुई लाख धरौटिमा रिहा भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको इजाशले आलमलाई धरौटिमा छोडन आदेश दिएको हो । आदेशपछि प्रशासनले तोकेको धरौटि रकम बुझाएर बिहीबार रिहा भएका छन् ।
गत वैशाख २४ गते विराटनगरबाट साथी फार्मेसीका सञ्चालक २६ वर्षीय सोनु आलम र उनका सहयोगी नक्कली रेम्डिेसिभिर बनाएर चर्को मूल्यमा बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका आलम र सहयोगी विराटनगर–१६ का २३ वर्षीय श्रवणकुमार यादवलाई मोरङ प्रहरीले ‘कालोबजारी ऐन; अन्तरगतको मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको थियो ।
प्रहरीको अनुसन्धानदेखि फार्मेसी संचालक आलमसहितको गिरोहले ज्वरो आँउदा तथा छात्ती दुख्दा प्रयोग हुने ‘स्टासेफ’ नामक ९० रुपैयाँको एन्टिबायोटिक इन्जेक्सनको बोतलमा रेम्डेसिभिरको लेभल लगाएर ८ देखि २५ हजार रुपैयाँमा बिक्री गर्दै आएको खुलेको थियो । प्रहरीको अनुसन्धानदेखि पक्राउ परेका आलमले ८ हजार रुपैयाँले नक्कली रेम्डिेसिभिर २ सय ५० थान बिक्री गरेको खुलेको छ । एन्टिबायोटिकको बोतलको साइज (आकार) सँग मिल्ने हुनाले गिरोहलाई स्टिकर लगाएर नक्कली रेम्डेसिभिर तयार पार्न सजिलो भएको अनुसन्धानबाट पत्ता लागेको थियो ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता विराटनगरमा रेम्डेसिभिरको अभाव छ । चरम अभाव भएको र माग धेरै आएको मौका छोप्दै भारतको पटनाबाट नक्कली स्टिकर झिकाएर आलम र यादवले होटलको कोठा भाडामा लिँदै नक्कली रेम्डेसिभिर तयार गर्ने गरेको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।
नक्कली रेम्डेसिभिर बनाउन प्रयोग गरिएको ‘स्टासेफ’को खुद्रा बजार मूल्य ९० रुपैयाँ पर्छ । ९० रुपैयाँको औषधिलाई नक्कली रेम्डेसिभिरका रुपमा विकास गर्दै हजारदेखि २५ हजार रुपैयाँसम्ममा किनबेच भएको थियो ।
पक्राउ परेका यादवको हकमा भने उनलाई कोरोना संक्रमण देखिएकोले मुद्दा यथावत रहेको छ । संक्रमण ठिक भएपछि प्रहरीले उनको मुद्दा प्रशासनमा बुझाउने भएको छ ।