पूर्वाञ्चल खबर
यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २ सय ७८ रन बनाएका थिए ।
उनले टी–२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए भने लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए । सिरिजमा चार अर्धशतक प्रहार गरेका उनी प्लेअर अफ दि सिरिज भए ।
आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो ।
यस्तै उनले अर्का ओपनर आसिफ शेखसँग लगातार २ खेलमा शतकीय साझेदारी गर्दै अर्को विश्व कीर्तिमान पनि बनाएका थिए । २४ वर्षीय भुर्तेल अहिले नेपाली क्रकेटमा चर्चामा छन् । उनले यसका लागि धेरै अघिदेखि मिहिनेत गरेको र अहिले त्यसको फल प्राप्त भएको बताएका थिए ।
सिरिजमा गरेको प्रदर्शनका आधारमा कुशल पहिलो पटक आइसीसीको टी–२० वरीयतामा पर्दै ९३ औं स्थानमा समावेश भएका थिए । त्यसपछि अपडेट भएको वरीयतामा उनी ६१औं स्थानमा उक्लेका छन् ।
यस्तै पाकिस्तानका बाबर आजमले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै २ सय २८ रन बनाएका थिए । सोहि प्रदर्शनको आधारमा उनी विराट कोहलीलाई पछि पार्दै आइसीसीको नम्वर वान ओडीआई ब्याट्सम्यान बनेका थिए ।
यस्तै फखर जमानले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा ३ सय २ रन बनाएका थिए । उनले सिरिजमा दुई शतक समेत बनाए । जस क्रममा उनले दोस्रो एकदिवसीयमा १ सय ९३ रन प्रहार गरेका थिए ।
मनोनयनमा परेका कुशललाई भोटिङ गर्न सकिनेछ । उनलाई भोट गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।