खबर पूर्वाञ्चल
घरेलु मैदानमा भएको त्रिदेशीय फुटबल कपको फाइनलपछि विराजले सन्यास लिएका हुन् । ३१ वर्षीय विराजले यो प्रतियोगितापछि सन्यास लिने यसअघि नै बताइसकेका थिए ।
खेलको ८९औँ मिनेटमा त्रिदेव गुरुङको स्थानमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै विराजले राष्ट्रिय टोलीबाट बिदा लिएका हुन् । उनको यो ७३ औँ राष्ट्रिय खेल थियो । विराजले ट्रफी उचाल्दै राष्ट्रिय टोलीबाट बिदा लिए ।
विराजले राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्षपछि संन्यास लिएका हुन् । उनले सन् २००८ मार्च २५ मा पाकिस्तानविरूद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।
३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन् । त्रिपुरेश्वरका स्थायी बासिन्दा विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरू गरेका थिए ।
थ्री स्टारबाट ९ वर्ष खेलेपछि उनी २०१६ मा मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध भएका थिए । सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा पुगे ।
उनले खेलेका तीन वटा क्लबबाट लिग जित्ने अवसर पाए ।
अनिल गुरूङले संन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमिकामा देखिए । तर टिममा नियमित स्थान बनाउन भने सकेनन् ।
विराजले नेपालले तीन वटा उपाधि जित्दा नेतृत्व गरे । नेपालले बंगबन्धु गोल्डकप, १२ औं साग र सोलिडारिटी कप जित्दा उनी मैदानमा कप्तानको भूमिकामा थिए ।