खबर पूर्वाञ्चल
मोरङको बेलबारी नगरपालिका–१ निवासी ३० वर्षीया चन्द्रकला राईको आज विहान कार दुर्घटनामा परेर मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चन्द्रकला सवार बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर कोशी राजमार्गअन्तर्गत बुढीगंगा–३ मा दुर्घटनामा परेको थियो । बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा विहान ११ः३० बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ ।
दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते भएका छन् । घाइते सबैको विराटमै उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए ।
दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।