पूर्वाञ्चल खबर
विराटनगरमा आज परिषद्को प्रदेश १ कमिटिद्वारा आयोजित अन्र्तक्रियामा परिषद्का संयोजक सन्तोष बराईलीले रैथानेहरु अब आफै संगठित हुदै पहिचानका लागि अघि बढ्नेपर्नेमा जोड दिए । महानगर नजिकबाट भेला भएका युवाहरु बीच संयोजक बराईलीले रैथानेलाई सबल र सक्षम बनाउने अभियानमा समाहित हुन आग्रह गरेका थिए ।
पाँच वर्षअघि सिरहाको लाहानमा स्थापना भएको बताएका संयोजक बराईलीले अबका दिनमा सबै आम नागरिक राजनीतिक रुपमा सचेत हुनुपर्ने बताए । तीन तहको सरकारमा हुने गरेका क्रियाकलापमा समेत विशेष चासो राख्नुपर्नेमा जोड दिएका बराईलीले भ्रष्टाचारका कारण आएका बजेटहरु समेत दुरुपयोग हुने गरेको आरोप लगाए । मुलुकको राजनीतिक घटनाक्रममा समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्न बाध्य बनाइएको उनको आरोप रहेको छ । आफ्नै दलभित्रबाट काम गर्न नदिएर प्रधानमन्त्री ओलीले राजीनामा दिनुपरेको बताएका संयोजक बराईलीले प्रधानमन्त्रीले अहिलेनै राजीनामा दिनु नपर्ने उल्लेख गरे ।
कार्यक्रममा रैथाने एकता परिषद्का मोरङ अध्यक्ष नरेश दनुवारले मोरङमा २१ वटा विभिन्न जातजाती आदिवासी जनजातीका रुपमा सुचीकृत भएको बताए ।
कार्यक्रममा पषिद् प्रदेश १ का महासचिव अमरेन्द्र सिंहले रैथानेका लागि अब युवासंग एकताबद्ध हुदै सरकारसंग हकअधिकारको माग गर्नुपर्ने उल्लेख गरे ।