विराटनगर /सञ्चार क्षेत्रमा महिला पत्रकारहरुको वृद्धिका लागि ‘सञ्चार गृह महिला मैत्री ’हुुनुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासंघ मोरङद्वारा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको आज विराटनगरमा आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाहरुको अर्थपूर्ण सहभागिता सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले महिला पत्रकारहरुको वृद्धिका लागि सञ्चार गृहले महिला पत्रकारहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलव्ध गराउन महासघले आवश्यक अनुगमन र पहल हुनुपर्नेमा जोड दिएका छन् ।
प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी राज्यमन्त्री सिर्जना राईले सङघीय गणतन्त्रलाई प्रवद्र्धन गर्न सञ्चार क्षेत्रमा महिला पत्रकारहरुको सङ्ख्या वृद्धि गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले समाजमा सञ्चार लगायत अन्य क्षेत्रमा महिलामाथि हुने विभेदको अन्त्यका लागि हामीसबै एकजुट भएर लाग्न आग्रह समेत गरिन् ।
मन्त्रालयका सचिव हेमराज तामाङ्गले महिला पत्रकारहरुलाई न्युन पारिश्रमिकमा काम नगर्न आव्हान गर्दै मन्त्रालयले महिलाहरुका लागि फेलोशिप रकम वृद्धि गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष शुसिला पाठक, उपाध्यक्ष सन्तोष सिग्देल,सचिव नेत्र पि अधिकारी, कोशीका अध्यक्ष भरत खड्का, केन्द्रीय सदस्य कमल रिमाल, मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार विक्रम लुईटल, विवेक गौतमले महिला पत्रकार र स्थानीय सञ्चार गृहको प्रवद्र्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए ।
कार्यक्रममा महासंघका मोरङ पूर्व अध्यक्ष बन्धु पोखरेलले पत्रकारितामा महिला पत्रकारको स्थायित्व सवाल र कान्तिपुर टेलिभिजनका उप सम्पादक महाप्रसाद खतिवडाले सञ्चार क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता र भावी रणीनीति विषयक कार्यपत्र प्रस्तुत गरे ।