पूर्वाञ्चल खबर
हिउँदमा साइबेरिया सम्मबाट नेपालका सिमसारमा अस्थाई रुपमा बसाइ सरी आउने हज्जारौ फिरन्ते चराहरु, विभिन्न प्रजातिका माछाहरु, कछुवा, गोही, अजिङ्गर, उभयचर, किटपतंग तथा बोट बिरुवाहरुको आश्रय स्थलहो सिमसार । यसका अतिरिक्त अर्ना, गैडा जस्ता ठुला स्तनधारी तथा अन्य थुप्रै प्रजातिका उभयचर, सरीसृपहरु समेत सिमसार क्षेत्रमा आकर्षित हुने गर्दछन् । तसर्थ परिस्थितिक खाद्य शृंखलामा सिमसारको ठुलो महत्व रहेको छ । ताल, नदी, पोखरी, जलाशय, दलदलयुक्त धाप आदि सिमसार क्षेत्रहरु हुन् ।
सिमसारहरु जैविक विविधताका मात्र नभएर प्राकृतिक सुन्दरताका समेत खानी हुन् । नेपालको कुलभुभागको करिव ५ प्रतिशत अर्थात् करीव सात लाख पचास हजार हेक्टर क्षेत्र सिमसारले ओगटेको छ । जस मध्ये सबैभन्दा बढि तराईमा १ सय ६३ वटा र पहाडी र हिमाली क्षेत्रमा ७९ वटा जति सिमसार रहेका छन् । जलवायु परिवर्तनको मार खेपिरहेको विश्वमा सिमसार जोगाउनाले यसले धर्तीको तापक्रममा वृद्धि भइरहेको ग्लोबल वार्मिङ्ग जस्तो विश्वव्यापी समस्या समाधानमा सघाउ पुर्याउनुका साथै कार्बन संचितिकरण तथा जैवरसायन चक्रलाई व्यवस्थापन गर्न मद्दत गर्दछ ।
शहरी क्षेत्रमा समेत मानव निर्मित सिमसारको रुपमा ठुल्ठुला खाल्डा वापोखरी निर्माण गर्नाले बर्षातको समयमा बाटो घाटो वा सतहबाट बग्ने आवश्यकता भन्दा ज्यादा नाइट्रोजन तथा फस्फोरस जस्ता तत्वहरु तथा अन्य अनावश्यक प्रदुषित ठोस पदार्थहरु मिसिएको पानीलाई भण्डारण गरी व्यवस्थापन गर्न सकिन्छ । सिमसार क्षेत्रहरुले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा प्रदान गर्दछ ।
विश्वभर हालसम्म १ सय ७१ देशका २ हजार ४ सय सिमसारहरु रामसार क्षेत्रका रुपमा सुचिकृत भएका छन् । हालसम्म नेपालका १० वटा सिमसार क्षेत्रहरुलाई अन्तररास्ट्रिय महत्वका सिमसारको रामसार सूचीमा राखिएको छ । जसमा सुनसरीको कोशी टप्पु, चितवनको बीस हजारी ताल, कैलालीको घोडाघोडी ताल, सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाईकुण्ड, कपिलवस्तुको जगदीशपुर, इलामको माइपोखरी, डोल्पाको पÞmोक्सुण्डो, मुगुको रारा, पोखराकातालहरुको समुह पर्दछन् । यी सिमसार क्षेत्रहरुले ६० हजार हेक्टर भन्दा बढी क्षेत्र ओगटेको तथ्याङ्कले देखाएको छ ।
२०४४ साल पुस २ गते कोशी टप्पु सिमसारलाई नेपालको पहिलो रामसार क्षेत्रको रुपमा सुचिकृत गरिएको थियो भने पोखराका तालहरुको समुहलाई २०७२ साल माघ १९ गते दशौ सिमसारको रुपमा सुचिकृत गरिएको थियो । जस अन्तर्गत फेवा, बेगनास, रुपा, खास्टे, कमलपोखरी, नेउरेली, दिपाङ, गुइडे र मैदीताल सामूहिक रुपमा रामसारमा सूचीकृत भएका छन् ।
इनिसिएसन नामक जर्नलमा छापिएको एक लेखका अनुसार नेपालको सिमसारमा विश्वमै दुर्लभ मानिएका ४२ प्रजातिका जीवजन्तुहरु पाइने गर्दछन् । हालनेपालमापाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये करीव २५ प्रतिशत चराहरु सिमसारमा आश्रित रहेका छन् । त्यसै गरी नेपालका २० रैथाने मेरुदण्ड भएका जन्तु मध्ये १७ प्रजाति सिमसारमा आश्रित रहेका छन् । जसमा ९ प्रजातिका उभयचर र सरीसृप एवं ८ प्रजातिका माछाहरु रहेका छन् । नेपालमा पाइने करीव ७ हजार प्रजातिका विकसित वनस्पतिहरु (भास्कुलर) मध्ये २५ प्रतिशत वनस्पतिहरु सिमसारमा आश्रित रहेका छन् । आफ्नो दैनिक जीविकोपार्जनकालागि नेपालका २१ जातजातिका रैथाने आदिवासीहरु सिमसार क्षेत्रमापाइने सम्पदामा प्रत्यक्ष रुपमा आश्रित रहेका छन् ।
अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले २ फेब्रुअरी १९७१ माइरानको रामसार भन्ने शहरमा रामसार महासन्धिभएको हुनाले उक्त महासन्धिमा हस्ताक्षर गरेको स्मरण गर्दै हरेक वर्षको फेब्रुअरी २ तारिखका दिनलाइ विश्व सिमसार दिवसका रुपमा मनाउने गरिन्छ । सिमसार क्षेत्रले जैविक विविधताको संरक्षण गनुका साथै स्थानीय समुदायको आर्थिक उपार्जन गरी पर्यटन विकासमा समेत टेवापुर्याउने भएकाले सिमसार क्षेत्रको संरक्षण अपरिहार्य रहेको छ । [email protected]