पूर्वाञ्चल खबर
प्रबुद्ध नागरिक समाजले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै आङ्बोले मुख्यमन्त्री रााईले पोलिटिकल ब्ल्याकमेलमा सक्रिय भएको आरोप लगाएका हुुुन् ।
नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद बढ्दै गएर आधारभूत रुपमा मुख्यमन्त्री राई र आफूबीच राजनीतिक मान्यताहरुमा फरक परेको अवस्थामा आफूलाई सरकारबाट हटाउनु र आफूहरुले अविश्वास प्रस्ताव पेश गर्नु स्वभाविक भएको आङ्बोले बताए। यो अवस्थामा अविश्वास प्रस्तावको सामना गर्दै राजनीतिक रुपमा अगाडि बढ्नुपर्नेमा हतास मानसिकतासाथ अराजनीतिक आरोप प्रत्यारोपमा मुख्यमन्त्री लागेको उनको आरोप छ ।
सरकार छोड्ने निश्चित भएकै बेला आफूलाई बर्खास्त गरेर मुख्यमन्त्रीले पोलिटिकल ब्ल्याकमेल गरेको उनले बताए । ‘मलाई नहटाएको भएपनि हामी सरकार छोड्ने तयारीमै थियौं,’ उनले भने ‘मुख्यमन्त्रीले मलाई हटाएपछि अरु मन्त्री डराएर उहाँलाई समर्थन गर्छन् कि भनेर ब्ल्याकमेल गर्नुभएको थियो । तर, उहाँको उद्देश्य सफल भएन ।’
मुख्यमन्त्रीसँगै मुलुभुत राजनीतिक विषयमा फरक भइसकेपछि सरकारमा आफूहरु नरहनु स्वभाविक भएको भन्दै आङ्बोले यतिको सामान्य राजनीतिक विषय पनि नबुझ्नु बचपना भएको टिप्पणी गरे । १९ जना सांसदहरुलाई असंवैधानिक ढंगले स्पष्टिकरण सोध्ने र १६ जनालाई निलम्बन गर्ने प्रचार औचित्यहिन रहेको भन्दै उनले सांसदलाई निलम्बन गर्ने अधिकार दलकै बहुमत गुमाएको व्यक्तिलाई नहुने स्पष्ट पारे ।
आङ्बोले आफू अल्पमतामा परेपछि प्रदेशसभा पनि विघटन गर्ने धम्की दिनुले प्रधानमन्त्री र मुख्यमन्त्रीको नियत छर्लङ्ग बनाएको बताए । ‘म मुख्यमन्त्रीको बारेमा कुनै टिप्पणी र आरोप लगाउन चाहन्न, मैले उहाँसँग ३४ महिना सँगै काम गरेको छु,’ उनले भने ‘तर, उहाँले केही दिनयता दिनुभएको प्रतिक्रिया अपरिपक्वमात्र छैन, अराजनीतिक, आधारहीन र बचपना पनि छ ।’
मुख्यमन्त्रीमाथि दर्ता भएको अविश्वासको प्रस्ताव सदनबाट टुंगिने भन्दै आङ्बोले सदनमै प्रतिवाद गर्न सुझाव समेत दिए । ‘संसदको विश्वास छैन भन्नेकुरा हामी सदनबाट पुष्टि गर्ने प्रयत्न गर्छौं,’ आङ्बोले भने ‘तपाईले पनि आफ्नो तयारी थाले हुन्छ, बाहिर रातोपिरो हुँदै दौडिन जरुरी छैन ।’