उत्कृष्ट करदाताको रुपमा जीवन विकास सम्मानित

खबर पूर्वाञ्चल, ८ मंसिर २०७७, सोमबार १३:०४

विराटनगर । ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : विकास, समृद्धि र सुशासन ’ प्रमुख नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर सप्ताह’ सम्पन्न गरेको छ ।

कर सप्ताह अवसर पारेर कार्यालयले जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरी मोरङलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ मा सबै भन्दा बढी नौ करोड कर बुझाएको थियो ।

संस्थाको तर्फबाट प्रमुख कार्यकारी अध्यक्ष सञ्जय मण्डललाई प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरियो । मोरङमा हाल ७० हजार करदाता र एक लाख ५० जनाले व्यावसायिक पान न.लिएका छन् ।सोही अवसरमा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी दुर्गा ढकाललाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा कार्यालय प्रमुख विमल सापकोटाले राष्ट्र निर्माणमा ठूलो योगदान दिइरहेका करको महत्व सबैले बुझ्नु पर्ने र यसलाई समयमै दाखिला गर्न अनुरोध गरे । अर्का कर अधिकृत पशुपति घिमिरेले कर बिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने भएकोले यसमा कसैले पनि आलटाल गर्न नहुने बताए ।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग वाणिज्य संघ प्रदेश समितिका सदस्य रमेश राठीले बन्दाबन्दीको अवसरमा राज्यतर्फबाट उद्योग र व्यापारीलाई प्रदान गर्ने भनिएको राहत प्याकेजमा ढिलाई भएको बताए । उनीहरुले यस अवधिमा सीमावर्ती बजार भारतको जोगबनी नेपाली उपभोक्ता जान नपाउँदा यहाँको बजारमा उल्लेखनीय सुधार भएकोले सरकारले जहिले पनि नाकालाई व्यवस्थित गर्नु पर्ने कुरामा जोड दिए ।

साथै कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ कोे चार महिनाको अवधिमा कुल दुई अर्व १४ करोड ३७ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । जसमा आयकर ६६ करोड ९० लाख १६ हजार, मूल्यअभिवृद्धि कर ७६ करोड चार लाख ५४ हजार र अन्तःशुल्क ७१ करोड ४२ लाख ५७ हजार छन् ।

कार्यालयले कात्तिक महिनामा आयकरमा १ सय ५८, मूल्यअभिवृद्धि करमा १ सय ९६ र अन्तःशुल्कमा ७१ प्रतिशत प्रगति हासिल गरी क्रमशः आयकर १२ करोड एक लाख २२ हजार, मूल्यअभिवृद्धि कर १८ करोड ९० लाख १० हजार र अन्तःशुल्क १९ करोड ७७ लाख ७० हजार सङ्कलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५