खबर पूर्वाञ्चल
प्रदेश २ सरकारले उपचार खर्च तिर्ने प्रतिबद्धता स्थानीय प्रशासनको रोहबरमा गरेपछि अस्पतालमा बन्दी बनेका सदा दम्पतिलाई अस्पतालबाट मुक्त गरी घर फर्काएको जनाएको छ ।
प्रदेश २ सरकारले उपचार खर्च वापतको १ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिदिने निर्णय यसअघि नै गरिसकेको छ । उक्त निर्णय अनुसार प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले टेलिफोन गरी सदा परिवारलाई घर पठाउन आग्रह गरे । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीसमेतको सहयोगमा बिरामी घर फर्केको बताइएको छ ।
गत साउन ५ गते छिमेकीको पिटाइबाट सख्त घाइते भएका अग्रिसाइवर कृष्णसवरण गाउँपालिका ५ का शिवचन्द्र सदा र उनकी श्रीमती मलियादेवीलाई विराटनगरको गाल्डेन अस्पताल लगिएका थियो । उपचार खर्च तीर्न नसकेको भन्दै अस्पतालले बन्धक बनाउँदा दुवैजना बिचल्लीमा परेका थिए ।
आज उनीहरूलाई गोल्डेन अस्पतालकै एम्बुलेन्सबाट घर पुर्याइएको अस्पतालका सञ्चालक सनातन मण्डलले जानकारी दिए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले उपचार खर्चको जिम्मेवारी लिएपछि घर पठाइएको मण्डलले बताए ।
मण्डलले बिरामी छाड्न प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्की र प्रदेश २ का महान्यायधिवक्ता दिपेन्द्र झाले टेलिफोनमार्फत आग्रह गरेको जानकारी दिए । सप्तरी जिल्लामा चलिरहेको कुटपिटको मुद्दाबारे त्यहाँका प्रमुख जिल्ला अधिकारीसँग बुझेर पीडकमार्फत क्षतिपूर्ति भराइदिन समन्वय गरिरहेको जानकारी प्रजिअ निरौलाले जानकारी दिए ।
कुटपिटबाट घाइते भएका सदा दम्पतीको राम्रोसँग उपचार समेत नभएको आधिकारकर्मी भोला पासवानले बताए । बाँसको भाटाले कुटेका कारण सदाको दाइने हातमा गम्भीर चोट लागेको र हात अझै राम्ररी चल्न नसक्ने अवस्था छ ।
अस्पतालबाट राम्रोसँग उपचार नपाए पनि सुरुका एक हप्तामै घर लैजान चिकित्सकले भनेका थिए । तर, त्यतिबेला उपचार खर्च वापत तिर्नुपर्ने ५५ हजार तिर्न नसकेपछि अस्पतालले बन्दी बनाएर १ लाख ९० हजार बिल पुर्याएको हो ।
बुवाआमा नभएपछि सदा दम्पतीका स–साना तीन बालबालिका मागेर खान बाध्य थिए । पछि उनीहरुलाई मावल लगिएको थियो । लड्न आँटेको जीर्ण घरमा चारै तिर झारले ढपक्क छोपेको छ भने हप्तौँदेखि चुल्हो बलेको छैन । उनीहरूलाई करिब २० दिन पुग्ने चामल, नुन, दाललगायत खाद्यान्न दलित सरोकार मञ्च सप्तरीले उपलव्ध गराइदिएको छ ।
घर पुगेपछि शिवचन्द्र सदा र उनकी श्रीमती भक्कानिएका थिए । एकातिर भत्किन लागेको घर र मरणासन्न कुटाइको पीडासँगै खुलेआम घुमिरहेका पीडकबाट फेरि पनि आक्रमण हुने त्रासले चिन्ता लागेको सदाले बताए । ‘अस्पतालबाट त जसोतसो आइयो, अब के खाएर बाँच्नेहोला? सदाले भने ।