animated ellipse animated ellipse

प्रदेश ६ मा कस्को पल्ला भारी? कल्ले मार्ला बाजी?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०७९, बिहीबार १७:०४
828
Shares
विराटनगर / विराटनगर महानगरपालिका–६ ब्रह्मपुरा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । प्रदेशसभातर्फ भने ६ ‘२’मा पर्छ ।

मोरङ–६ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र एमालेबाट पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका कोइराला २०७४ सालको निर्वाचनमा पण्डितसँग पराजित भएका थिए । आगामी निर्वाचनका लागि पनि एउटै मैदानमा पुरानै प्रतिस्पर्धी आम्ने साम्ने भएका छन् ।

प्रदेशसभातर्फ कांग्रेसका केदार कार्की र एमालेका युवा नेता पर्शुराम बस्नेत (कृष्ण) उम्मेदवार छन् । उनीहरु बीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल गर्माएको छ । उम्मेदवारहरु घरघरमा पुगेर मतदातासमक्ष मत मागिरहेका छन् । आफूलाई जिताउन आग्रह गर्दै अनेक आश्वासन दिएर मतदाता फकाउन व्यस्त छन् ।

२०७४ सालमा कार्की यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । उनी हाल प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री छन् । मन्त्री भएपछि अनेक विवादमा मुछिए । उनका प्रायः कामकारबाही र निर्णयहरु विवादित छन् । जनभावनाविपरीतका काम गरेको र विभिन्न अनियमिततामा मुछिएको आरोप मतदाताले लगाइरहेका छन् ।

त्यही भएकाले निर्वाचनको माहोलमा मोरङ क्षेत्र नम्बर ६ ‘ख’ को चर्चा अलि धेरै हुने गरेको छ । विगतमा निर्वाचन जितेर गएपछि फर्किएर नआएको, मतदाताको गुनासो नसुनेको, सीमित झुण्ड तथा स्वार्थ समूहलाई च्यापेर हिँड्ने गरेको र योजनाहरुमा घोटाला गरेको आरोपका बीच कार्की मत माग्दै मतदातासमक्ष पुगिरहेका छन् ।

आफूमाथि लागेका आरोप चिर्ने प्रयास गर्दै आफूलाई भोट दिन आग्रह गरिरहेका छन् । तर खुलेआम रूपमा गरेको बदमासी ढाकछोप गरिरहेको भन्दै मतदाताले कार्कीका कुरा पत्याएका छैनन् । उनलाई पुनः चुनाव जिताउनु भनेको फेरि ५ वर्ष पछुताएर बस्नु हो भनिरहेका छन् ।

त्यहाँमाथि कार्कीका प्रतिस्पर्धी एमालेका युवा नेता बस्नेत छन् । चुनावी मैदान उनका लागि नयाँ भए पनि विभिन्न संघ संगठनमा बसेर सफल नेतृत्व गरेका कारण उनीप्रतिको क्रेज बढ्दो छ । विशेष गरेर युवाहरुको साथ उनले पाएका छन् । बिहीबार बिहान ब्रह्मपुरामा बस्नेतको उपस्थितिमा एमालेले गरेको घरदैलो र मतदाता भेटघाट कार्यक्रमले पनि त्यसको पुष्टि गर्छ ।

सीमित व्यक्तिहरु मिलेर सुरु गरेको घरदैलो केही बेरमै ठूलो समूहमा परिणत भएको थियो । घरघरबाट घरदैलोमा सहभागी हुनेहरुको ताँती लाग्यो । जसले बस्नेतलाई उत्साहित बनायो । युवायुवतीदेखि वृद्धवृद्धासमेत भोट माग्दै बस्नेतसँगै घरदैलो र मतदाता भेटघाटमा सामेल भए ।

ब्रह्मपुरा कांग्रेसको किल्ला भनेर चिनिन्छ । गत स्थानीय तह निर्वाचनले पनि त्यही पुष्टि गर्छ । किनभने कांग्रेसका अक्षयलाल भनिने हरिश्चन्द्र सहनीले वडाध्यक्ष जितेका छन् । कार्कीनिकटका सहनीले उनकै जोडबलमा टिकट पाएर चुनाव जितेको स्थानीय बताउँछन् । तर वडाध्यक्ष जितेपछि कार्कीसँगै सहनी पनि अनेक विवादमा मुछिँदै गइरहेका छन् ।

आज विहानको दृष्य भने फरक थियो । एमाले उम्मेदवार बस्नेतको पक्षमा महोल बनेको अनुमान लगाउन सकिन्थ्यो । हात जोडेर नमस्कार गर्दै उनले भोट मागिरहँदा चुनाव जितेर गएपछि ‘कार्कीले जस्तो जनतालाई बेवास्ता नगर्नु है’ भनेर वृद्धवृद्धाले आर्शीवाद दिन्थे । बस्नेतको विजयका लागि साथ दिने प्रतिवद्धता जनाउँथे ।

‘केदार कार्कीलाई चुनाव जिताएपछि हामीले ५ वर्ष पछुताएर बस्नु परेको छ । अब पनि उनैलाई जिताउनु भनेको आफ्नै खुट्टामा ‘बन्चरो’ हान्नु हो,’ ५० वर्षीया कलादेवी चौधरीले भनिन्, ‘अब मतदाता सचेत भइसके । बिर्सिएर पनि त्यस्तो गल्ती गर्न हुँदैन भनेर हामी टोलमा छलफल चलाइरहेका छौँ ।’ कलादेवी कांग्रेसकी पुरानै कार्यकर्ता हुन् ।

उनको बुझाइमा कार्कीलाई चुनाव जिताएकै कारण आफ्नो ठाउँ विकास निर्माणका हिसाबले निक्कै पछाडि परेको छ । ५ वर्षसम्म जनताको चित्त बुझ्ने गरी कुनै पनि काम भएन । ‘खुट्टै ढोगौंला झैँ गरेर २०७४ मा भोट माग्न आए । विभिन्न आश्वासन दिए । सुकुम्बासीलाई घर बनाइदिन्छौंसम्म भने,’ कलादेवी भन्छिन्, ‘तर सुकुम्बासीलाई ‘भोट बैंक’का रूपमा मात्रै प्रयोग गरे । जितेर गएपछि फर्किएर पनि आएनन् । फेरि उनै कार्कीलाई चुनाव जिताएर आफ्नो मत खेर जान दिन हुँदैनभन्ने पक्षमा जनमत बढ्दै गइरहेको छ ।’

कलादेवीको ८ जनाको परिवार छ । सम्पत्तिका नाममा ऐलानी जग्गामा बनाएको झुप्रो घर छ । मजदुरी नगरे जीविका चल्दैन । परिवारको बाँच्ने आधार नै मजदुरीको कमाइ हो । गत बर्खाको बाढीले घर डुबानमा पर्यो । बाढीले घरमा भएका केही पनि बाँकी राखेन ।

कलादेवीको टाउकोमा निस्किएको अनौठो खालको गाँठो दिनदिनै बढ्दै छ । ‘मेरो टाउकोमा सानो गाँठो निस्कियो । अहिले त्यो बढेर ठूलो भइसकेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन सकेको छैन,’ उनले भनिन्, ‘५ वर्षअघि भोट माग्न आउँदा कार्कीले उपचारमा सहयोग गर्छु भनेर प्रतिबद्धता जनाएका थिए । सहयोगको त कुरै छाडौं । चुनाव जितेपछि फर्किएर पनि आएनन् ।’ ‘नेताले बोल्छन् मात्रै केही पनि गर्दैनन्’ भन्ने उदाहरण कार्कीलाई नै लिन सकिने उनको भनाइ छ ।

आफूलाई पेटको समस्यासमेत रहेको उनले सुनाइन् । ‘२ पटकसम्म पेटको अप्रेशन गरेको छु । टाउकाको गाँठोको उपचार गराउन सकिँन,’ उनले भनिन्, ‘घरमा बाढी पसेपछि परिवारको कन्तविजोग भयो । हामीले जिताएर पठाएकाहरुले भने फर्किएर पनि हेरेनन् ।’

६१ वर्षीय वसन्त कामतले लामो समयदेखि कांग्रेसलाई सहयोग गरेर गल्ती गरेको सुनाए । ‘पार्टी नराम्रो हैन । तर कार्कीजस्तै पार्टीभित्रका पात्रहरु खराब भए,’ उनले भने, ‘यस्तै पात्रका कारण आज पार्टीले नोक्सानी बेहोर्नुपर्ने अवस्था छ । पार्टीलाई भजाएर आफ्नो दुनो सोझ्याउने कामभन्दा केही पनि गरेनन् ।’

गरिबका दुःखमा साथ नदिएपछि कांग्रेस त्याग्नु पर्ने अवस्था आएको वसन्तको भनाइ छ । उनी परिवार धान्न राजमिस्त्रीको काम गर्छन् । ‘कांग्रेसभित्र लामो समय योगदान दिएँ । तर केदार कार्कीजस्ता व्यक्तिहरुले हामीजस्ता गरिबलाई वास्तै गरेनन्,’ उनले भने, ‘सहयोग गर्छु भनेर चुनाव जिते । तर दुःखमा कहिल्यै साथ पाउन सकिएन ।’

४९ वर्षीय राजेश सहनी कार्कीप्रति निक्कै आक्रोसित छन् । ‘चुनाव जितेपछि केही गरेनन् । अरुले गरेको कामलाई मैले गरेको हो भनेर झुटा प्रचार गरिरहेका छन्,’ राजेश भन्छन्, ‘ढाँटछल गरेर जनतासँग मत माग्दैछन् । तर हाम्रो ठाउँमा समस्याका चाङ जस्ताको तस्तै छ ।’ जनता पीडामा परिरहँदा कार्कीले आफ्नो र वडाध्यक्ष सहनीको नाममा समेत जग्गा किनेर धेरै सम्पत्ति जोडेको राजेशको दाबी छ ।

‘जनतालाई बिहानबेलुका होतमुख जोड्न धौधौ छ । बर्सेनि बाढी र डुबानको चपेटा बेहोर्नुपर्छ । डुबान क्षेत्रमा मन्त्री कार्कीले एकपटक पनि अनुहार देखाएनन्,’ उनले भने, ‘उनी व्यक्तिगत सम्पत्ति जोड्नमै व्यस्त छन् । त्यो सम्पत्ति जोड्ने पैसा कहाँबाट आयो भनेर खोजी हुनुपर्छ । हिजोका दिनमा केही पनि नभएका व्यक्ति चुनाव जितेपछि करोडौंको मालिक कसरी हुन्छ ?’

चुनाव जिताएर जनताले पठाएपछि कार्की चिल्ला गाडीमा हिँड्न थालेको बताउँदै राजेशले भने, ‘हाम्रा दुःख चैँ हामीसँगै छ । कसैले पनि समाधान गर्दैनन् भन्ने भइसक्यो ।’ उनले पटकपटक आश्वासन मात्रै बाँडेर काम नगरिकन जनतालाई धोका दिएको बताए ।

मञ्जुदेवी महतोको परिवार १७ वर्षदेखि ऐलानी जग्गामा बसोबास गरिरहेको छ । गत निर्वाचनमा सुकुम्बासीलाई जग्गा दिने र घर बनाइदिने भनेपछि कार्कीलाई मत दिएको उनले सुनाइन् । भनिन्, ‘हामीलाई जग्गा र घर दिने कुरा त कता हो कता । भएको झुप्रो घर डुबानमा पर्दा १ किलो चामल पनि पाउन सकिएन ।’

चुनाव जितेर गएपछि एकपटक पनि फर्किएर नआउँदा कार्कीसँग धेरै चित्त दुखेको मञ्जुदेवीको गुनासो छ । ‘हामीजस्ता गरिबलाई बसोबासको व्यवस्था हुनुपर्छ । मुलुकमा विकास गर्ने नेता चाहिएको छ,’ उनले भनिन्, ‘पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन नसक्दा नशा र हड्डीको समस्या बोकेर बसिरहेकी छु । स्वास्थ्य सेवा विपन्नको पहुँचमा पुग्नुपर्छ ।’

उनका विचारमा कार्कीजस्ता व्यक्तिलाई चुनाव जिताउँदा जनअपेक्षा पूरा हुँदैन । किनभने यसअघि अनेक आश्वासन दिएर चुनाव जितेर गएका कार्कीले त्यसपछि मतदातालाई सधैँ उपेक्षा गरेको उनले सुनाइन् । भनिन्, ‘केदार कार्कीले धोका दिए, हाम्रो पीडा कहिल्यै सुनेनन् ।’

५० वर्षीय बलराम कामत चुनाव जितेर गएपछि केदार कार्कीले गरेका बदमासीको फेहरिस्त आफूसँग रहेको सुनाउँछन् । ‘हामी किसान हौँ । खेती गर्ने बेला मल र बीउ पाइँदैन,’ उनले भने, ‘तर मन्त्री भने अगाडि र पछाडि लावालस्कर लगाएर सुरक्षाकर्मीका बीचमा चिल्ला गाडीमा दौडिन्छन् । आफ्नो स्वार्थ पूर्तिमा केन्द्रित हुन्छन् ।’

गर्ने नगर्ने सबै काम गरेर जनताका बीचमा कार्की आलोचित बनेको बलराम सुनाउँछन् । ‘यस्ता व्यक्तिलाई पार्टीले पुनः टिकट दिन हुँदैन थियो । स्वच्छ छवि भएकाहरुलाई पाखा लगाएर विवादितलाई टिकट दिइयो,’ उनले भने, ‘कार्कीले गरेका एकएक बदमासी हामीले टिपोट गरेर राखेका छौँ । त्यही भएकाले अहिलेसम्म हामीसँग भोट माग्न आउने आँट गरेका छैनन् ।’ बलरामले ५ बर्से कार्यकालमा जनविरोधी काम गरेका कार्कीलाई पुनः भोट माग्दै जनताको बीचमा आउने अधिकार नभएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर