खबर पूर्वाञ्चल
महासघं कोशी प्रदेशले १९ औ लोकतान्त्रिक दिवसको अवसरमा सम्पादकहरूसँग विशेष संवाद कार्यक्रम आयोजना गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गैरसरकारी सस्था महासघ कोशी प्रदेशका अध्यक्ष लखन साहले लोकतन्त्रको वर्तमान अवस्थाबारे धारणा राख्दै राजनीतिक दलहरूले समेत व्यवस्थापन गर्न नसकेको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन मिडियाले के कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको बताए ।
केन्द्रीय सदस्य रिमालले समाचार कक्षभित्र कमजोर बन्दै गएको लोकतान्त्रिक चेतनालाई सशक्त बनाउन मिडियाले आफ्ना दृष्टिकोण, प्रस्तुतिका शैली र एजेन्डाहरूलाई अझ सशक्त रूपमा पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए । सो सम्वाद कार्यक्रममा नेपाल पत्रकार महासँघ मोरङका पूर्व अध्यक्ष बन्धु पोख्रेलले लोकतन्त्र केवल एउटा प्रणाली मात्र नभई स्वतन्त्रता, उत्तरदायित्व र जनअपेक्षासँग गासिएको अवधारणा भएको उल्लेख गर्दै भने, “लोकतन्त्र ल्याएर मात्रै हुँदैन, यसको कार्यान्वयनमा निरन्तर दबाब सिर्जना गर्न मिडियाको भूमिका अझै महत्वपूर्ण हुन्छ ।”
नेपाल पत्रकार महासँघ मोरङका पूर्व उपाध्यक्ष नवराज कट्टेलले १९ वर्ष बितिसक्दा पनि लोकतन्त्रप्रति नागरिक सन्तुष्ट नदेखिनु दुःखद भएको बताए । पत्रकार महाप्रसाद खतिवडाले लोकतन्त्र संस्थागत नहुनुमा गहिरो सामाजिक संरचनालाई जिम्मेवार रहेको बताए । नेपाल पत्रकार महासँघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टले लोकतन्त्रको मूलमा जनताको सर्वोच्चता रहेको स्मरण गराउँदै भने, “जनताले आफैं प्रतिनिधि छानेर शासन गर्छन । तर स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता अझै पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन् । यस्ता अवस्थालाई सुधार्न मिडियाले आफ्नो कलम अझ धारिलो बनाउनुपर्छ ।”
नेपाल पत्रकार महासँघ कोशी प्रदेशका पूर्व महासचिव विवेक गौतमले भने, “लोकतन्त्र कुनै दलका लागि होइन, जनताको लागि हो। तर नागरिक सन्तुष्ट नभएका धेरै सूचकहरू छन् । दलहरूभित्रका आन्तरिक समस्याले समेत सुसासनलाई असर पु¥याएको छ ।”