खबर पूर्वाञ्चल
विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएको मध्ये २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरीमा कोरोना देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यसबारे आधिकारिक सूचना प्रदेश प्रहरीले सार्वजनिक गरिसकेको छैन । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेले एक जना महिलासहित केही प्रहरीमा कोरोना लागेको पुष्टि भएको जानकारी आएको बताए ।
‘प्रदेश प्रहरीमा संख्या तोकेर अहिलेसम्म जानकारी नआएपछि केही प्रहरीमा लागेको भनेर सूचना आएको छ,’ उनले भने, ‘संक्रमित देखिएका प्रहरीलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गर्ने तयारी सुरू गरिएको छ ।’
यस अघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको छ । हालसम्म प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । अहिले संक्रमण देखिएको अधिकाश प्रहरी जवान हुन् ।