खबर पूर्वाञ्चल
डाँगीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएर श्रमिक आन्दोलनसम्म फैलिएको छ । उनको राजनीतिक यात्रा २०६० सालमा महेन्द्र मोरङ क्याम्पसबाट सुरु भएको हो । उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाट सक्रिय विद्यार्थी राजनीति गर्दै आफ्नो क्षमता प्रस्तुत गरेकी थिइन् । छात्रा जीवनमै नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी डाँगीको राजनीति त्यसयता निरन्तर अघि बढेको छ ।
समाजका विविध तहमा काम गर्ने संकल्पसहित अघि बढेकी डाँगी हाल सौन्दर्यकर्मी क्षेत्रको श्रमिक संगठन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको कोशी प्रदेश अध्यक्षको रूपमा कार्यरत छन् । यसबाहेक, उनी जनरल फेडेरेशन अफ नेपालिज ट्रेड युनियन (जिफन्ट) मार्फत श्रमिक अधिकारका सवालमा निरन्तर क्रियाशील छिन् ।
उनको यो लामो राजनीतिक यात्रा केवल संगठन विस्तारमै सीमित छैन, उनले महिलाको हक, अधिकार र नेतृत्व विकासमा विशेष जोड दिँदै आएकी छन् । एमालेभित्र महिला नेतृहरूको प्रतिनिधित्व अझ बलियो बनाउन डाँगीको उम्मेदवारीलाई महत्वपूर्ण रूपमा हेरिएको छ । उनी भन्छिन्, ‘राजनीति केवल सत्ता र पदका लागि होइन, समाजमा परिवर्तन ल्याउने साधन हो। महिलाहरूले अगाडि आएर नेतृत्वमा रहे समाजमा सकारात्मक परिवर्तन सम्भव हुन्छ ।’ उनले समाजशास्त्रमा मास्टर्स गरिसके छिन् ।