खबर पूर्वाञ्चल
हत्या भएको राति साथीहरुसँग बसेर मदिरा सेवन गरेका गिरीको बेलबारीमा बिहीबार विहान शव भेटिएपछि उनका साथीहरु पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानबाट सोही राति ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । इलाका प्रहरी कार्यालय बेलबारीले घटनामा संलग्न ट्याक्टर र चालकलाई पक्राउ गरेपछि प्रहरीको अनुसन्धानबाट गिरीको हत्या ट्याक्टरको ठक्करबाट भएको भएको हो ।
कुटपिट गरि हत्या भएको आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुसन्धानमा पथरीशनिश्चरे नगरपालिका–९ का ४६ वर्षीय बद्री मगरले चलाएको ट्याक्टरले ठक्कर दिएर उनको मृत्यु भएको खुलेपछि उनलाई पक्राउ गरेको छ ।प्रहरीले ट्याक्टर चालक पथरीशनिश्चरे नगरपालिका – ९ का ४६ वर्षिय बद्री मगरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
गत बिहीबार विहान मनिङ वाक गर्ने क्रममा स्थानियले बेलबारी नगरपालिका ७ दौतपुरस्थित नहरको ढिलमा मृत अवस्थामा आयुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यस घटनाको सुष्म रुपमा अनुसन्धान गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष ब्यूरो टोली, मोरङ प्रहरी र इप्रका बेलबारीले संयुक्त रूपमा अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानबाट रंगेलीको एक इटा भट्टाबाट इटा बोकेर केरौन चौकदेखि पश्चिम नहरको कच्ची सडक हुदै आएको को २ त १२२५ नम्बर ट्याक्टरको ठक्करले आयुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राती ९ देखि १० बजेको बिचमा ट्याक्टरको ठक्करबाट मृत्यु भएको प्रहरीको भनाई छ । ‘बुधबार राती नहरको बाटो हुँदै ५ वटा ट्याक्टरमा इटा बेलबारी ल्याएको देखियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘अन्तिममा आएको को २ त १२२५ नं. ट्याक्टर चालक मगरले चलाएको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।’ साथीहरूसँग मदिरा सेवन गरेर नहरको बाटो हुदै घर आउने क्रममा आयुषलाई ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको बिचको चक्कामा ढोकिएर मृत्यु भएको प्रहरीको भनाई छ । आयुषको बाहिर चोट नदेखिए पनि प्रराम्भिक चरणको पोष्मार्टक रिपोटले भित्री छातीमा चोट देखिएको इप्रका बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । पक्राउ परेका चालक मगरले पनि ट्याक्टरको ठक्करले आयुषको मृत्यु भएको प्रहरीसँगको बयानको क्रममा स्वीकार गरेको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट आयुषको मृत्यु भएपछि शवलाई नहरदेखि दक्षिण साइट लगाएर मगर बेलबारीस्थित एक हाडवेयरमा इटा झारेर पुनः राजमार्ग हुदै कानेपोखरीबाट दक्षिण हुदै रंगेलीस्थित इटाभट्टामा पुगेर सुतेका थिए । दुर्घटना भएर मृत्यु भएको खबर चालक मगरले ट््याक्टरका साहु र अन्य चालकहरुलाई पनि फोनमार्फत जानकारी गराएका थिए ।
इप्रका बेलबारीले पक्राउ परेका ट्याक्टर चालक मगरलाई आजै जिल्ला अदालत मोरङमा सवारी ज्यान मुद्दामा म्यात थप गरि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।
गिरीका ९ जनालाई अभद्रमा मुद्दा चलाउने
मृत अवस्थामा शव फेला परेपछि बुधबार राती आयुषसँगै मदिरा सेवन गर्ने ९ जना विरुद्ध इप्रका बेलबारीले ‘अभद्र’ मा मुद्दा चलाउने भएको छ । मदिरा सेवन गरि रातभरी होहल्ला गरेकोले प्रहरीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङमा अभद्रमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । आयुषको शव भेटिएपछि प्रहरीले बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।