खबर पूर्वाञ्चल
आज विराटनगर सम्पन्न फेलोसिप हस्तान्तरण कार्यक्रममा विकल्पले जनही ५० हजारको फेलोसिप ४ जना पत्रकारलाई हस्तान्तरण गरेको हो।
फेलोसिप प्राप्त गर्नेमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, मुलुकी खबरका सम्पादक किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहेका छन्। विकल्पले फेलोसिपका लागि आह्वान गरेको खुला आवेदनको आधारमा ४ जना पत्रकार छनोट भएका थिए।
फेलोसिप वितरण कार्यक्रममा बोल्दै विकल्पका अध्यक्ष प्रा डा भेषप्रसाद धमलाले पत्रकारहरू समाजमा रहेको विकृति, विसङ्गतिका विरुद्धका अभियन्ता भएकोले पत्रकार आफ्नो पेशामा सदैव गम्भीर हुनुपर्ने बताए। उनले पत्रकारको कलमप्रति समाज विश्वस्त हुने हुँदा समाजमा सकारात्मकता वा नकारात्मकता विस्तारमा पत्रकारको ठूलो भूमिका हुने धारणा व्यक्त गरे।
विकल्पका संस्थापक तथा कार्यकारी निर्देशक वसन्त अधिकारीले विकल्पले विगत १० वर्षदेखि जीविकोपार्जन, स्वतन्त्रता, गरेर खान पाउनु पर्ने अधिकारको लागि काम गर्दै आएको जानकारी दिए। अधिकारीले विकल्पले फेलोसिपको माध्यमबाट थप जिम्मेवार र सशक्त पत्रकारिता गर्न बल पुग्ने आशाको संस्थाले लिएको धारणा व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले विकल्पले पत्रकारिता क्षेत्रसँग सहकार्य गर्दै श्रमजीवी पत्रकारलाई थप जिम्मेवार र सशक्त बनाउने उद्देश्यले फेलोसिप हस्तान्तरण गरेको भन्दै संस्थाको प्रशंसा गरे। खड्काले आगामी दिनमा समेत महासंघले विकल्पसँग सहकार्य गर्दै पत्रकारिता क्षेत्रमा थप काम गर्नेमा आशावादी रहेको बताए।
फेलोसिप हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासंघ कोशी प्रदेश संस्थापक अध्यक्ष विक्रम लुइटेल, पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना मन्तव्य दिए । विकल्पकी कार्यक्रम संयोजक रानु साहले कार्यक्रमको उद्देश्य बारे र फेलोसिप प्राप्त गर्ने पत्रकारहरूले आफूले गरेको काम बारे प्रस्तुति दिइन्।