विराटनगर / प्रदेश १ को झापाका एक व्यक्तिमा आज कोरोना संक्रमण पुष्टि भएससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
पछिल्लो पटक झापाको दमकका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सबै भन्दा बढी उदयपुरमा २८ जनामा कोरोना संक्रमित भेटिएका थिए । उदयपुरमा देशमै सबै भन्दा बढी कोरोना संक्रमित भेटिएपछि प्रदेश १ मा यसको संक्रमण फैलिन सक्ने जोखिम समेत बढेको छ ।
उदयपुरको नूरी मस्जिदमा आएका जमातीहरुलाई कोरोनाको संक्रमण देखिएपछि उनीहरु घुमेको प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा सतर्कता बढाइएको छ ।
उदयुरको भुल्के हटस्पटको रुपमा रहदा पहाडी जिल्ला भोजपुर र तराईको जिल्ला झापामा पनि कोरोनाको संक्रमण भएको पुष्टि भएपछि भने थप सतर्कता अपनाउन जरुरी भएको विज्ञहरुले बताए ।
संक्रमितहरु भारतीय नागरिक १२ जना, उदयपुरका १३ जना, विराटनगरका ४ जना र झापाका १ जना छन् । संक्रमितमध्ये २८ जनाको विराटनगरमा उपचार भइरहेको छ । बिहीबार संक्रमण पुष्टि भएका भोजपुरका युवालाई पनि विराटनगर ल्याईदैछ । देशभर संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरुमध्ये १० जना उपचारपछि घर फर्किएका छन् ।
दमकमा एकै परिवारका ३ जनामा र्यापिट टेष्ट गर्दा (आरडिटी) पोजेटिभ भेटिएको थियो । आरडिटी पोजेटिभ देखिएका ब्यक्तिका परिवारका एक सदस्य दुबईबाट आएको बताइएको छ । तर, उनको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।
संक्रमितका छोरा ४ चैतमा दुबईबाट आएका थिए । विमानबाट काठमाडौं ओर्लिएका उनी बस चढेर घर पुगेका थिए । विदेशबाट आएकाहरुको परीक्षणका क्रममा उनीसँगै परिवारमा रहेका उनका आमा, बावु र श्रीमतीको टेष्ट गरिएको थियो । श्रीमती बाहेक सबैको पोजेटिभ आयो । त्यसपछि सबैको थ्रोट स्बाव संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।
अरुको नेगेटिभ आयो तर, ६२ वर्षका बृद्धको रिपोर्ट पोजेटिभ आएको छ । उनी डाइबेटिजको विरामी भएको पाइएको छ ।
दमक ३ भुटानी शरणार्थी शिविर बेलडाँगी नजिकैको परिवारमा कोरोनाको एण्टीबडी देखिएपछि आजैदेखि शिविर आवतजावतमा प्रतिवन्ध लगाईएको छ । शरणार्थी शिविरमा बाक्लो बस्ती रहेकाले छिटो संक्रमण फैलन सक्ने भएकाले दमक नगरपालिकाको पहलमा तत्कालै शिविर शिल गरिएको नगर उपप्रमुख गिता अधिकारीले जानकारी दिए ।
कोरोना देखिएपछि दमकमा तरकारी बिक्री वितरणदेखि लिएर सबै ब्यापार ब्यवसाय बन्द गर्ने निर्णय भएको छ । दमक बाहिरबाट दुध, तरकारी र मासुजन्य सामाग्रि ल्याउन पनि बन्देज लगाईएको छ ।
तपाईको प्रतिक्रिया