पूर्वाञ्चल खबर
मोरङको कूल जनसंख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई हात्तिपाइले विरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार गत वर्ष मोरङमा ८३ प्रतिशत नागरिकले हात्तिपाइले विरुद्धको औषधी खाएका थिए । यसवर्ष ९० प्रतिशतलाई खुवाउने लक्ष्य रहेको छ ।
तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट हात्तिपाईले रोगका औषधि आईभरमेक्टिन, डिईसी र अल्वेन्डाजोल खुवाउने भएको डा. मेहताले बताए । हात्तिपाईले रोगको औषधि दुई बर्ष उमेर नपुगेका बालबालिका, गर्भवति र सातदिन सम्मका सुत्केरी तथा सिकिस्त विरामी र छारे रोग भएका विरामीले खानु नहुने डा. मेहताको भनाई छ । ‘सबैलाई यो औषधि सुरक्षित रहेकाले घरदैलोमा आउने स्वास्थ्यकर्मी वा नजिकैको बुथमा गएर उचाई अनुसार औषधी सेवन गर्नुहोला,’ डा. मेहताले भने, ‘औषधि सेवन गरी सधैँका लागि हात्तीपाईले रोग मुक्त समाज बनाऔं । आफु र आफ्नो सन्ततिलाई सुरक्षित बनाऊँ । यो हाम्रो अहिलेको अभियान हो ।’
मोरङको सुनवर्षी नगरपालिकामा ३०५ मानिसलाई नमूना परीक्षण गर्दा २४ जनामा हात्तीपाइले रोगको लक्षण देखिएको थियो । सो क्षेत्रमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने उनको भनाई छ ।