कर्फ्यु लगाएर भएपनि लकडाउन प्रभावकारी बनाउन मुख्यमन्त्री राईको निर्देशन

खबर पूर्वाञ्चल, १७ चैत्र २०७६, सोमबार १९:५५

विराटनगर / कोरोना संक्रमणको जोखिम कम गर्न लगाइएको लकडाउन प्रभावकारी नभएपछि कर्फ्यु लगाएर भएपनि लकडाउन प्रभावकारी बनाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

आज मुख्यमन्त्री कार्यालयमा सञ्चारकर्मीहरुसँगको छलफलमा मुख्यमन्त्री राईले लकडाउन तोड्ने क्रम नरोकिए कर्फ्यु लगाउनेसम्मको तयारी गर्न निर्देशन दिएको जानकारी दिए ।

लकडाउन प्रभावकारी नभएको जानकारी आएको भन्दै मुख्यमन्त्री राईले त्यसको कडाइ पूर्वक कार्यान्वयनको लागि आवश्यक परे कर्फ्यु लगाउँन निर्देशन दिएको बताए । छलफलमा उपस्थित मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई उनले भने, ‘लकडाउन प्रभाबकारी बनाउनैपर्छ, तोड्ने क्रम नरोकिए कर्फ्यु लगाउनुहोला ।’

लकडाउन केवल बाहिर हिँड्दा मात्र लागु हुने विषय हैन,’ मुख्यमन्त्री राईले भने यो भित्र बस्दा र सामाजिक रुपमा पनि दुरी बनाउने र अनुशासनमा बस्ने विषय हो भन्ने कुरा पनि बुझाउन जरुरी भएको छ ।’

प्रदेश १ मा पछिल्लो समय भारत तथा अन्य तेस्रो मुलुकबाट धेरै व्यक्तिहरुको प्रवेश भएकोले उच्च जोखिममा रहेको भन्दै मुख्यमन्त्री राईले त्यसप्रति प्रदेश सरकार सचेत र संवेदनशिल रहेको बताए । अहिले प्रदेशमा २ हजारलाई राख्न सक्ने क्वारेन्टाइन निर्माण भएको जानकारी दिँदै उनले एक हजार क्वारेन्टाइका वेडहरु नेपाली सेनाको सुरक्षामा सञ्चालन गर्नेगरी व्यवस्थापन मिलाएको बताए ।

अप्ठ्यारो समयमा सञ्चार क्षेत्रबाट राम्रो सहयोग भइरहेको र यतिबेला मिडिया स्वयं पनि समस्यामा रहेको विषयमा सरकारलाई जानकारी भएको मुख्यमन्त्री राईले बताए । उनले सञ्चार क्षेत्रको समस्यामा सरकार सहयोग गर्न तत्पर रहेको भन्दै त्यस विषयमा जानकारी माग गरे ।

जनचेतनामूलक सूचनाहरुलाई विभिन्न माध्यमबाट प्रशारण र प्रकाशन गर्ने विषयमा सरकारले भोलिबाटै काम थाल्ने जानकारी दिँदै मुख्यमन्त्री राईले विपन्न र श्रमिक वर्गको पहिचान गरी उनीहरुको तथ्यांक संकलन गर्ने र राहत वितरण गर्ने काममा लाग्न सबै स्थानीय तहलाई निर्देशन गरिसकेको बताए । उनले राहत वितरण गर्ने काम स्थानीय तहको भएको भन्दै स्थानीय तहले नसकेको अवस्थामा मात्र प्रदेश र संघीय सरकारले त्यस विषयमा ध्यान दिने उल्लेख गरे ।

छलफलका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले प्रदेशका २७ वटा दैनिक पत्रिकाहरु बन्द भएको, सञ्चार क्षेत्रमा पनि लकडाउनको प्रभाव परेको जानकारी दिँदै सरकारले त्यस विषयमा ध्यान दिनुपर्ने बताए । उनले लकडाउन उल्लंघनको क्रमलाई सरकारले कडाइ पूर्वक रोक्नु पर्ने सुझाव दिए ।

महासंघ प्रदेशका महासचिव विवेक गौतमले सञ्चार क्षेत्रको समस्याका बारेमा कोरोना समस्या समाधान भएपछि छलफल गर्ने भन्दै अहिले सरकारले संक्रमण रोकथामका लागि गरेका प्रयासमा सहयोग गर्नु आवश्यक रहेको बताए । उनले प्रिन्ट मिडिया बन्द भएपनि विद्युतीय र डिजिटल मिडियामार्फत सूचना प्रवाह गर्ने काम भइरहेकोले सरकारले त्यसको उपयोगमा ध्यान दिनुपर्ने सुझाव दिए ।

छलफलमा अग्रज पत्रकारहरु यज्ञ शर्मा, मोहन भण्डारी, शंकर खरेल, लिलाबल्लभ घिमिरे, लिलाराज भट्टराईलगायतले सुझावहरु दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५