पूर्वाञ्चल खबर
विराटनगर / रौतहटमा हुने चन्द्रपुर उपमेयर राष्ट्रिय महिला लिगको उपाधि रक्षा गर्ने विराटनगर महानगर टोलीकी कप्तान कल्पना कार्की क्षेत्रीले बताएकी छिन् ।
आज महानगरले १८ जना खेलाडीसहित प्रशिक्षक तथा अफिसियललाई विदाई गर्ने क्रममा कप्तान कार्कीले शनिबारदेखि सुरु हुने प्रतियोगितामा महानगरको टोली शतप्रतिशत जितको लागि मैदानमा उत्रने स्पस्ट पारिन् । गत जेष्ठमा काठमाडौंमा सम्पन्न उप मेयर कप अन्तर नगरपालिका महिला फुटबलको उपाधि हात पारेको टोलीले यसपटकपनि मैदानमा दबावरहित खेल खेल्दै उपाधी रक्षा गर्ने कोसिश गर्ने कार्कीको भनाई छ। सो क्रममा विराटनगर महानगरपालिकाले बाह्रविसे नगरपालिकालाई पेनाल्टीमा ४–१ गोलले पराजित गरेको थियो ।
अर्कोतर्फ, धनकुटामा आयोजित महिला फुटबलमा आयोजक धनकुटालाई एक शुन्यले पराजित गरेकोले टोली मैदानमा जितको लक्ष्यसहित उत्रने टोलीका प्रशिक्षक पारस चौधरीले जानकारी दिए। टोलीको मनोबल उच्च भएकोले उपाधि रक्षा गर्नेमा विश्वस्त रहेको उनले बताए । रौतहटमा हुने प्रतियोगिताका लागि अभ्यासको समय कम पाएको भएपनि महानगरको टोलीले अन्यलाई पराजित गर्ने क्षमता राख्ने प्रशिक्षक चौधरीको भनाइ छ।
खेलाडिहरुलाई महानगरका प्रमुख भीम पराजुली, एन्फाका सह–महासचिव बसन्त अर्याल, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँविदाई गरेका थिए । प्रतियोगिता माघ १० गतेबाट १८ गतेसम्म हुनेछ । प्रतियोगितामा सेमीफाइनलको यात्रा गर्ने चार टोलीले तीन विभागिय टोलीसंगै राष्ट्रिय महिला लिगमा सहभागिता जनाउनेछन् ।