पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर विमानस्थल विस्तारको काम अघि बढाउन नागरिक उड्यन प्राधिकरणले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षबाट विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणको काम अघि बढाउनका प्राधिकरणले बजेट बिनियोजन गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गुरुयोजना निर्माण भइसकेकोले अब विमानस्थल विस्तार गर्ने बताउँदै आउनुभएको छ । आन्तरिक विमानस्थलको विकास तथा विस्तार गर्ने नीति अनुरुप आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट एक करोड रुपैयाँ विनियोजन गरिएको कर्पाेरेट निर्देशनालयले विराटनगर विमानस्थललाई पठाएको पत्रमा उल्लेख छ ।
विमानस्थल विस्तार गर्न आवश्यक पर्ने जग्गाको टुंगो लगाई काम अघि बढाउन पनि प्राधिकरणलाई निर्देशन आएको छ । नागरिक उड्यन प्राधिकरण विराटनगरले जग्गा अध्रिग्रहणका लागि फोकल पर्सन तोकेर पर्याप्त बजेट विनियोजनका लागि नागरिक उड्यन प्राधिकरणमा पूनः पत्र पठाएको विराटनगर नागरिक उड्यन कार्यालयका प्रमुख टेकनाथ सिटौलाले बताए ।
गत १७ मंसिरमा विराटनगर विमानस्थल विस्तारका विषयमा पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितिमा विराटनगरमा छलफल भएको थियो । छलफलपछि मन्त्री भट्टराईले विमानस्थलको धावनमार्ग २५ सय मिटर बनाउने गरी काम अघि बढाउने बताए । विराटनगर विमानस्थलको धावनमार्गको लम्बाई हाल १५ सय मिटर रहेको छ ।
लम्बाई बढाउँदा १५० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । जग्गा अधिग्रहणका लागि न्यून बजेट आएका कारण नागरिक उड्यन प्रधिकरणलाई काम अघि बढाउन फोकल पर्सन तोक्नलाई आग्रह गरिएको सिटौलाले बताए ।
नागरिक स्तरबाट भएको पहलपछि नागरिक जग्गा अधिग्रहणका लागि बजेट विनियोजन भएका कारण विमानस्थल स्तरोन्नति हुने आशा पलाएको पर्यटन व्यावसायी पुन्य भट्टराईले बताए ।