AArya
RUMPUM
animated ellipse animated ellipse

सगरमाथा स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०८१, शनिबार १८:३८
162
Shares
विराटनगर / विराटनगरमा अवस्थित सगरमाथा स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई एक समारोहको आयोजना गरी विदाई गरेको छ ।

स्कुल परिसरमा आज आयोजित उक्त कार्यक्रममा व्यवस्थापन, विज्ञान संकाय, होटल म्यानेजमेन्ट र कानून संकायमा अध्ययनरत विद्यार्थीहरुलाई विशेष सम्मानका साथ विदाई गरिएको थियो ।

समारोहमा सगरमाथा स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको शुभकामना दिंदै आफ्नो सम्बोधन प्रस्तुत गरे । उनले विद्यार्थीहरुलाई कक्षा १२ को परीक्षामा आफूले अध्ययन गरेका विषयवस्तुहरुलाई प्रभावकारी ढंगले प्रस्तुत गरी उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरे । ‘तपाईंहरू सबैले यहाँ बिताएका क्षणहरू अविस्मरणीय छन्, ‘प्रिन्सिपल गौतमले भने, “अब तपाईंहरू जीवनको अर्को महत्वपूर्ण अध्यायमा प्रवेश गर्दै हुनुहुन्छ । यहाँ प्राप्त शिक्षा र अनुभवहरूले तपाईंहरूलाई भविष्यमा सफलताको शिखरमा पुग्न मद्दत गर्नेछ ।’

कार्यक्रममा विराटनगर वडा नं. ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपानेले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक बन्न प्रोत्साहित गरे । ‘आजको युवा पीढी नै देशको भविष्य हो । तपाईंहरूले प्राप्त गरेको शिक्षालाई समाज र राष्ट्रको विकासमा लगाउनु नै सच्चा शिक्षाको सार्थकता हो,’ उनले भने ।

प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोलले विद्यार्थीहरूलाई शिक्षा केवल पुस्तकीय ज्ञान मात्र होइन, यो जीवन जिउने कला पनि भएको बताए । ‘सगरमाथा स्कुलले तपाईंहरूलाई सैद्धान्तिक ज्ञानको साथसाथै व्यावहारिक जीवनका लागि आवश्यक सीपहरू पनि सिकाएको छ ,’ उनले भने ।

प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य प्रति समर्पित रहन र निरन्तर प्रयासरत रहन प्रोत्साहित गर्दै भने, ‘सफलता एक दिनमा प्राप्त हुँदैन, यसका लागि धैर्य र लगनशीलता चाहिन्छ । आफ्नो सपनालाई साकार पार्न कठिन परिश्रम र दृढ संकल्प आवश्यक छ ।’

कार्यक्रमलाई थप रोचक बनाउन विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले नृत्यहरूले कार्यक्रममा उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो ।

यस वर्ष सगरमाथा स्कुलबाट एक सय विद्यार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् ।

सगरमाथा स्कुल विराटनगरको एक प्रतिष्ठित शैक्षिक संस्था हो, जसले विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले शैक्षिक उत्कृष्टताको साथसाथै खेलकुद, सांस्कृतिक र सामाजिक क्रियाकलापहरूमा पनि विशेष जोड दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर