पूर्वाञ्चल खबर
काठमाण्डौं / सातवटै प्रदेशका प्रमुखहरूलाई सरकारले पदमुक्त गरेको छ । आज मन्त्रिपरिषदको बसेको बैठकले पदमुक्त गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि सातवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका हुन् ।
सातवटै प्रदेश प्रमुखलाई वि.स. २०७४ साल माघ ३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नै सात प्रदेशका प्रदेश प्रमुखहरू नियुक्त गरेकी थिइन् ।
कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले कांग्रेस र मधेसवादी दुई दलको भागवण्डाका आधारमा प्रदेश प्रमुखहरु तोकेका थिए । फोरम र राजपाको सिफारिसमा १–१ जना प्रदेश प्रमुख नियुक्त गरि कांग्रेसबाट ५ जनाले नियुक्ति पाएका थिए । जसप्रति वर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकार सुरुदेखि नै रुष्ट थियो । कांग्रेसले निर्वाचनमा पराजय बेहोरेपछि नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाउने नेकपाले त्यतिबेला अभिव्यक्ति दिएको थियो ।
प्रदेश १ मा डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।