बाइडेन भए अमेरिकाको ४६ औँ राष्ट्रपति

खबर पूर्वाञ्चल, २३ कार्तिक २०७७, आईतवार ०९:०७
837
Shares

विराटनगर / अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा जोसेफ रोविनेट बाइडेन निर्वाचित हुँदै ४६ औँ राष्ट्रपति भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् ।

बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुन् । ह्यारिसले अर्को एक इतिहास बनाएकी छिन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति समेत हुन् । आगामी जनावरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा बाइडेनले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन् ।

वाराक ओबामाको कार्यकालमा उनी उपराष्ट्रपति थिए । ७८ वर्षीय बाइडेन २ सय ७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा २ सय ८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी ट्रम्पले भने २ सय १४ भोट मात्रै ल्याए । अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५ सय ३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २ सय ७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यद्यपि रिपब्लिकन पार्टीका ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् । यसले अमेरिकी राष्ट्रपतिको विवाद भने अझै केही समय चल्न सक्ने देखिएको छ ।

निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र ह्यारिसले जितेसँगै सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । यसबीचमा अमेरिकामा ट्रम्प र बाइडेन दुबैका समर्थकहरु आन्दोलित बनेका छन् । झण्डै एक साता लागेर सम्पन्न भएको यसपटकको अमेरिकी निर्वाचन ऐतिहासिक मानिएको छ । सबैभन्दा धेरै मतदाता यसपटक थिए । साथै हुलाक मार्फत पनि मतदान गरिएको थियो ।

यसवाहेक कोरोना महामारीका बीच निर्वाचन सम्पन्न भएको हो । नोभेम्बर ३ मा सुरु निर्वाचनको मतगणना भने नोभेम्बर ७ मा मात्रै सम्पन्न भएको छ । मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा नै थियो ।

यससँगै ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने अमेरिकाका थोरै राष्ट्रपतिमध्ये एक हुन् । सामान्यतः अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ ।

मतगणनाको परिणामको प्रतीक्षामा तीन दिनदेखि बेचैन रहेका विशेषतःअमेरिकी र विश्वभरका जनता तथा राजनीतिज्ञलाई यो परिणमले शान्त बनाएको छ । विश्व भूराजनीतिमा अग्रिम भूमिका खेल्दै आएको अमेरिकी राष्ट्रपतिय निर्वाचनको परिणामले अमेरिकाको राजनीतिमा नयाँ बाटो तय गरेको छ ।

विश्वमै निक्कै आलोचित बनेका राष्ट्रपति ट्रम्पलाई हराउन कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि लोकप्रिय उम्मेदवार बाइडेनले सकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५