पूर्वाञ्चल खबर
सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा यात्रुवाहक बस खस्दा १० जनाको मृत्यु भएको छ ।
दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौंका लागि छुटेको बस सडकबाट करिब सय मिटर तल नदीमा खस्ता कम्तीमा १० जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आज दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो । घटना स्थलबाछ २० जनाको भने उद्धार गरिएको डिएसपी काफ्लेले बताए । उनीहरूलाई उपचारका लागि बनेपा अस्पतालमा पठाइएको छ ।
बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने डीएसपी काफ्लेले बताए । ‘मृतकको संख्या बढ्न सक्छ, हामी खोजी र उद्धार गरिरहेका छौं,’ डिएसपी काफ्लेले भने । मृतकको सनाखत भइसकेको छैन ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले सुनकोशीको किनारमा ल्याइएको छ ।